Logo

नयाँ नक्शा समेटिएको निशान छाप प्रतिनिधिसभाबाट पारित हुँदै गर्दा बोले भारतीय सेनापति



काठमाडौं, ३१ जेठ । नेपालमा नयाँ नक्शा निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुनैलाग्दा भारतीय सेनापति एम एम नरवाणे बोलेका छन् । त्यो पनि उत्तराखण्डको राजधानी देहरादुन पुगेर । उनले नेपालसँगको सम्बन्ध सधै मजबुत रहेको र रहिरहने बताए ।

‘हाम्रो नेपालसँग निकै मजबुत सम्बन्ध छ । हाम्रो भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्धहरु छन्,’ नरवाणेको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हाम्रो जनता जनताबीचको बलियो सम्बन्ध छ । हाम्रो उनीहरुसँग जहिलेपनि बलियो सम्बन्ध रह्यो र भविष्यमा पनि रहिरहनेछ ।’

यसअघि नेपालले लिपुलेक लिंकरोड भारतले बनाएपछि आपत्ती जनाएकोमा सेनापति नरवाणेले कसैको उक्साहट भनी चीनतर्फ संकेत गरेका थिए । उनको अभिव्यक्तिले तरंग ल्याएको थियो ।

यसअघि नरवाणेको प्रतिक्रियालाई अन्तर्राष्ट्रिय मामलाका भारतीय प्राध्यापक एस डी मुनीले अनावश्यक भनेका थिए । द प्रिन्टसँगको कुराकानीमा उनले सैन्य तहमा विषयको समाधानको पहल भएको हुनसक्ने बताएका छन् ।

उनले रक्षासम्बन्धी प्रमुख जनरल विपिन रावतले नेपालका रक्षामन्त्री इश्वर पोखरेलसँग कुराकानी गर्ने तय भएको थियो भनी खुलासा गरेका थिए ।

नेपाल र भारतबीच सैन्य सम्बन्ध छ । भारतका सेनापति नेपालका मानार्थ सेनापति र नेपालका सेनापति भारतका मानार्थ सेनापति रहने परम्परागत व्यवस्था रहँदै आएको छ ।

आज नेपालको संसदले निशान छाप संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित गर्नु अघि भारतीय सेनापति नरवाणेको नरम बोली आएको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot