Logo

कोरोना कोषको खर्च विवरण सार्वजनिक



काठमाडौँ ३१ जेठ : सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोषको खर्च विवरण सार्वजनिक गरेको छ । कोषबाट भएको रकम पारदर्शी हुनुपर्ने चौतर्फी दवाव पारेपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

अर्थ मन्त्रायलको तथ्यांक अनुसार हाल सम्मको कोषको करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्च भएको छ । त्यो रकम कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिद लगायतमा खर्च भएको मन्त्रालयले जनाएको छ ।

खर्च भएको कोषको रकम मध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य पूर्वाधार निर्माणमा ९८ करोड ५० हजार रुपैयाँ, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार रुपैयाँ, क्वारेन्टिइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार रुपैयाँ र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपैयाँ गरी एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएको छ ।

त्यस्तै, रक्षा मन्त्रालय अन्र्तगत दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपैयाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा, क्वारेन्टिइन निर्माणमा एक करोड २९ लाख रुपैयाँ र विविधमा ३५ लाख रुपैयाँ खर्च भएको छ । रक्षा मन्त्रालय अन्र्तगत दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएको छ ।

यस्तै गृह मन्त्रालय अन्र्तगत दुई करोड ४५ लाख ८८ हजार रुपैयाँ, परराष्ट्र मन्त्रालय अन्र्तगत ६५ लाख रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत ५ करोड २० लाख रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जनाएको छ ।
यस्तै सहरी विकास मन्त्रालय अन्र्तगत क्वारेन्टाइन निर्माणमा एक करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ ।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालय अन्र्तगत १५ करोड ७५ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकार अन्र्तगत एक अर्ब ३० करोड रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांक छ । जस मध्ये प्रदेश १ ले १९ करोड ३५ लाख, प्रदेश २ मा १३ करोड ३९ लाख, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख, प्रदेश ५ ले सात करोड ७९ लाख, कर्णालीले २३ करोड ९२ लाख र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्