काठमाडौँ, ३२ जेठ । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ ।
सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
बढ्दो स्वास्थ्य जोखिम र जारी बन्दाबन्दीको स्थितिमा स्थानीय तह र विद्यालयले आफ्नो ढङ्गबाट तयारी गरिरहेका बेला सरकारको मार्गदर्शनपछि वैकल्पिक प्रणालीलाई हालका लागि निर्विकल्प मानिएको छ तर प्रत्यक्ष कक्षामा पढ्ने आदत र परीक्षामुखी प्रणालीको अभ्यासमा यो विकल्प स्थापित गर्न तत्काल सहज हुन भने गाह्रो रहेको विज्ञहरुको भनाइ छ ।
निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण हुन थालेका छन् । यद्यपि काठमाडौँकै धेरैजसो अभिभावकका पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ ।
गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगन छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय समिति गठन गरी वैकल्पिक विधिको अनलाइन या दूरशिक्षाबारे अल्पकालीन र दीर्घकालीन सुझाव तयार गराई महामारीको यस अवस्थालाई शिक्षाको सूचना प्रविधिको फड्को मार्ने अवसर र चुनौतीका व्याख्या गर्दै आएको छ । (रासस)