Logo

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको झण्डा गाड्नुपर्छ- सुजाता कोइराला (भिडियोसहित)



काठमाडौं, ३२ जेठ । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले देशभित्र राष्ट्रिय एकता कायमै गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानीको भुमि फिर्ता ल्याउन पहल गर्नुपर्ने बताएकी छिन् । उनले देशभित्र राष्ट्रिय एकता कायमै गरी भुमि फिर्ता ल्याएर देशको झण्डा गाड्नुपर्ने बताएकी हुन् ।

‘भारतसँग वार्ताबाट नै जमिन फिर्ता ल्याउनुपर्छ,’ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा भनिन्, ‘भारतसँग कुरा मिलाएर अब हामीले आफ्नो भुमिमा झण्डा गाड्नुपर्छ, त्यसका लागि भारतसँग कुटनीति तरिकाले वार्ता गर्नुपर्छ ।’ वार्ता गर्दा लेनदेन हुने र विन विनमा जान सकिने बताइन् । उनले भनिन्, ‘विकल्पहरुसहित वार्तामा जानुपर्छ ।’

कोइरालाले भारतलाई उक्त क्षेत्र आवश्यक पर्छ भने लिजमा लिएर नेपाललाई समुन्द्र मार्गसँग जोड्ने जमिन त्यसरी नै लिजमा दिन सकिने गरी जाने विकल्प हुनसक्ने बताइन् । उनले भनिन्, ‘भारतलाई त्यो जमिन अति आवश्यक हो भने लिजमा लिनसक्छ बदलामा हामीलाई समुन्द्रसँग जोड्ने भुमि दिनसक्छ ।’

भारतसँगको जनता जनताबीचको सम्बन्ध नबिगारी जानुपर्नेमा उनको जोड थियो । वार्ताको कुनै विकल्प नभएको बताउँदै भनिन्, ‘उट्पट्याङ कुरा गरेर हुँदैन वार्तामा जानुपर्छ ।’ भारतले पनि वार्ताको वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।

देशमा पहिलोपटक भुमिको सवालमा राष्ट्रिय एकता भएकोमा खुशी लागेको बताइन् । सहमति, सहकार्य र एकताको विकल्प नभएको बताउँदै अब काम गरेर देखाउने बेला आएको बताइन् । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा पूर्ण समर्थन गरेर राष्ट्रियताको वास्तविकता प्रमाणित गरेको बताइन् । काँग्रेस जहिले पनि देश र जनताको हितमा केन्द्रित रहेको फेरि पुष्टि भएको उनको भनाई थियो ।

नेपालले पहिलोपटक लिपुलेक, लिम्पियाधुरा र कालापानी गुमाएको नक्शा स्थापित गरेका छौं । वार्ताबाट समस्याको समाधान गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्