Logo

राजेन्द्र महतो बोल्दा बामदेव दंग



काठमाडौं, ३२ जेठ । महाकाली सन्धी गर्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्छ हिजो प्रतिनिधिसभामा राष्ट्रिय समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका राजेन्द्र महतो यसरी कुर्लिए । निकै लामो समय बोलेका उनी असिनपसिन भएका थिए ।

महतोले बोलेको भाषण बामदेव गौतमले दोहोराएर सुनेको उनी निकट स्रोतले बताएको छ । गौतम महतोको भाषण सुनेर दंग परेका थिए । महाकाली सन्धी राष्ट्रघाती भएकाले त्यसबारे श्वेतपत्र जारी गर्नुपर्ने महतोको जोड थियो । यो जारी भयो भने सन्धी गर्ने देखि भुमिका खेल्ने र संसदमा पारित गर्न सहिछाप गर्नेसम्मको नाम आउँछ ।

महतोले नाम नलिएपछि सन्धीका हस्ताक्षरकर्ता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हुन् । यसलाई संसदबाट पारित गर्न मुख्य भुमिका निभाउने मध्येका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुन् । तत्कालिन नेकपा एमालेले ओलीको संयोजकत्वमा कमिटि बनाएर महाकाली सन्धीबारे प्रतिवेदन तयार गरेको थियो । जसमा पारित गर्ने सुझाव दिइएको थियो ।

महतोले सन्धी संसदबाट दुई तिहाईले पारित गर्दा एमाले नै फुटेको समेत उल्लेख गरे । एमाले फुट्दा ओली महाकाली सन्धीको पक्षमा खरो रुपमा उभिएका थिए । विपक्षमा थिए बामदेव गौतम । माधवकुमार नेपाल पनि पक्षमै थिए ।

गौतमले महाकाली सन्धीको पक्षमा मतदान पनि गरेनन् । उनले असन्तुष्टि जनाउँदै पार्टी नै फुटाए । सन्धी राष्ट्रघाती भएको भन्दै गौतमको असन्तुष्टि थियो ।

अहिले बामदेव गौतम सांसद छैनन् । उनले हिजो संसदमा बोल्न पनि पाएनन् । बोल्थे भने के के अभिव्यक्ति दिन्थे भन्ने चासोको विषय बनेको छ । तर, बामदेवलाई दंग पार्ने गरी राजेन्द्र महतोले बोलिदिए ।

महाकाली सन्धी गर्दा मुहान टुंगो नलगाई गरिएको थियो । यसकारण अहिलेसम्म सिमा विवाद रहिरह्यो । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्म आफ्नो नियन्त्रण कायम गरिरह्यो । सिमा विवाद नमिलाई महाकाली सन्धी भयो । तर, महाकाली सन्धीसहित पञ्चेश्वरको एकीकृत परियोजनाको डिपिआर अझै तयार भएको छैन । सन्धीबाट गल्ती भएको थियो भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बोल्न थालेका छन् । महतोले भने यसबारे श्वेत पत्र जारी गरेरै दोषी खोज्नुपर्ने भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot