Logo

सोती घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर (सुचीसहित)



काठमाडौं, ३२ जेठ । छ जना युवाको ज्यान गएको सोती घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आज रुकुम जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।

१० जेठमा रुकुम पश्चिमको चौरजहारी ८ को सोती गाउँमा भएको घटनामा संलग्न भन्दै आरोपी ३३ जनालाई कर्तव्यज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगार्ईएको छ भने एक जनालाई घटनाको मतियारको अभियोग लगाइएको छ ।

कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लाग्नेमा फरार ५ जनासहित वडाध्यक्ष डम्बरबहादुर मल्ल छन् ।

अभियोग लागेका को को

वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल,तुलबहादुर मल्ल,प्रेमबहादुर ठकुरी,वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोश मल्ल, महोन पुन मगर, रमेश बहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, ईन्द्रबहादुर मल्ल, दिपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, धनराज राना, रमित पुन, नविन घर्ती, विराज पुन, भिम पुन, घमण्ड मल्ल, विष्णु मल्ल, सर्वजित भनिने सविन पुन र १७ बर्षिया एक किशोरी ।

मतियारको अभियोग-ईन्द्रबहादुर मल्ल

किशोरी मल्ल थरकी मृतक नवराज विककी प्रेमिका हुन् जसलाई लिन जाँदा घटना भएको थियो ।

एकजना जाजरकोटका ईन्द्रबहादुर मल्ललाई भने मतियारको अभियोग लागेको रुकुम जिल्ला अदालतले जानकारी दिएको छ ।

यसअघि १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप व्यक्तिहरुलाई अभियुक्त पाइएपछि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दायर गरिएको हो । घटनाका आरोपी ५ जना अझै फरार छन् ।

१० जेठको शनिबार मल्ल थरकी १७ वर्षीया प्रेमिकालाई लिन भनी १९ जना युवासहित जाजरकोटबाट रुकुम पुगेका युवाहरुमाथि गाउँ नै उल्टेर आक्रमण भएको थियो । सोही क्रममा ६ जनाको ज्यान गएको थियो ।

घटनामा जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । ६ जनाको शव भेरी नदीमा भेटिएको थियो । घटनाले निकै गम्भीर रुप लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्