Logo

ओलीद्वारा बामदेवलाई उपप्रधान तथा अर्थमन्त्री पदको प्रस्ताव, एमसीसी ‘राष्ट्रघाती’ भन्दै बामदेवले प्रस्ताव लत्याइदिए



काठमाडौं, ३२ जेठ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भयो । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउने भनिएको बैठक अचानक स्थगित भएपछि अनेकन अड्कलवाजी भएको थियो । अन्तिम समयमा अचानक बैठक स्थगित हुनुमा एमसीसीबारे हुनसक्ने चर्काचर्की नै मुख्य कारण देखिएको छ ।

ओलीले सचिवालयबाट कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा सहमति नबन्ने देखे । उनलाई ईश्वर पोखरेलको मात्र समर्थन देखियो । महासचिव विष्णु पौडेलको स्पष्ट धारणा देखिदैन । गृहमन्त्री बादलको पनि यसप्रति असन्तुष्टि छ । छ जना विपक्षमा रहेपछि तीनजनाको भरमा केही नलाग्ने भयो । स्थायी कमिटिमा लाँदा पनि पक्षमा बहुमत आउने देखिएको छैन । त्यसैले ओलीले फेरि बामदेवको साथ खोजेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले विभिन्न माध्यमले बामदेव गौतमलाई पक्षमा पार्न खोजिरहेका छन् । गौतमको साथ भए एमसीसी संसदबाट सजिलै पारित गर्न सक्ने उनको जोखाना छ । त्यसैले बामदेवलाई साथमा लिन ओलीले हालैमात्र उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्न आग्रह गरेका छन् ।

सरकारमा लानुअघि राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित गर्ने सम्मको प्रस्ताव गरे । प्रतिनिधिसभाबाट चुनाव हारेकाले संविधान अनुसार गौतम सरकारमा सहभागी हुन पाउँदैनन् । तर, राष्ट्रियसभा सदस्य बनाइए भने सम्भावना छ ।

सरकारमा दोस्रो वरियताको उपप्रधानमन्त्रीसहितको प्रस्ताव बामदेवले भने लत्याइदिएका छन् । उनले एमसीसी पारित गर्न सघाउन नसकिने स्पष्ट पारेको बुझिएको छ । महाकाली सन्धी राष्ट्रघाती थियो भनी पुष्टि भएको तर्क गर्दै गौतमले एमसीसी पनि त्यस्तै हुने भएकाले कुनै हालतमा सघाउन नसकिने बताएको विश्वस्त स्रोतले बताएको छ ।

आफूले अध्यक्ष बनाउन देखि यसअघि सरकार ढल्न लाग्दा समेत सघाएको स्मरण गराउँदै एमसीसी पारित गर्न लागे सघाउन नसक्ने स्पष्ट पारेका थिए । गौतमले आफूलाई ओलीबाट पटक पटक धोका भएको बुँदागत रुपमै राखेका थिए ।

गौतमको साथ नपाउने भएपछि ओली नयाँ रणनीतिका साथ अगाडि बढ्ने तयारीमा रहेको बुझिएको छ । एमसीसीकै विषयले सरकारमा कम्पन आउने समेत आँकलन गरिएको छ । एमसीसीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा विपक्षमा छन् । यसकारण पनि ओली संसदीय दलबाटै टुंगो लगाउने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot