Logo

गृहको निष्कर्षः रुकुम घटना हत्या नै



काठमाडौं, असार १। पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै गरिएको निष्कर्ष निकालेको छ । नृशंस रूपमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुसन्धान सकेर घटनामा ज्यान गुमाएका सबैको हत्या भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

समितिका एक सदस्यले समितिले घटनाको स्थलगत अनुसन्धानपछि अवस्थाको विश्लेषण गरेर प्रतिवेदनसमेत तयार गरिसकेको र घटनामा परी ज्यान गुमाएका सबैको हत्या नै भएको पाइएको जानकारी दिए । ‘घटनामा ज्यान गुमाएकाहरूको हत्या नै गरेर भेरीमा फालिएको हाम्रो छानबिनले देखाउँछ, अनुसन्धान सकेर प्रतिवेदन तयार गरिसकेका छौं । निष्कर्ष त्यही हो, प्रतिवेदन सार्वजनिक गर्ने म्यान्डेड भने हामीलाई रहेन,’ समितिका एक सदस्यले भने ।

घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि गत १३ जेठमा गृहमन्त्री रामबहादुर थापाले गृह मत्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका एक जना उपसचिव छन् । मन्त्रालयले समितिलाई आइतबार नै घटनाको अनुसन्धानका लागि थप एक साताको समय दिएको छ ।

गत १० जेठमा रुकुम पश्चिम चौरजहारीकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जारजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।

केटा आएको देख्नेबित्तिकै केटी पक्षले केटा पक्षमाथि ढुंगामुढासहित आक्रमण गरेपछि सोही क्रममा ६ जनाको ज्यान गएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्