Logo

कोरोना संक्रमित वालिङका चार जना निको भई घर फिर्ता



प्रकाश डोटेल-स्याङ्जा, १ असार : स्याङ्जाका पहिलो चरणका कोरोना संक्रमित चार जना निको भई घर फिर्ता भएका छन् । जेठ १३ र १४ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आईसोलेसन र कालिका सामुदायिक अस्पतालको आईसोलेसनमा उपचाररत चार जना निको भई घर फिर्ता भएका हुन् ।

घर फिर्ता हुनेहरुमा वालिङ नगरपालिका वडा नं. ७ र १३ का नागरिक हुन् । वालिङ ७ का २० र २९ वर्षीय पुरुष र वडा नं. १३ की ३९ वर्षीया महिला तथा २६ वर्षीय पुरुष निको भई घर फर्केका हुन् । वालिङ नगरपालिकाले जिल्ला अस्पताल तथा कालिका सामुदायिक अस्पतालको आईसोलेसनबाट निको भएका नागरिकहरुलाई वालिङमा ल्याएर पूष्पगुच्छासहित विदाई गरेको हो ।

निको भएर आएका नागरिकहरुलाई विदाई गर्दै नगर प्रमुख दिलीपप्रताप खाँण एवं उपप्रमुख कल्पना तिवारीले उच्च मनोबल, धैर्यता र आत्मबलका कारणले कोरोनामाथि सहज बिजय हासिल गर्न सफल भएकोमा बधाई दिदै अझै केही दिन होम क्वारेन्टिनमा बस्न सुझाव दिए ।

वालिङ नगरपालिकाका २९ जना कोरोना संक्रमितमध्ये हालसम्म पाँच जना निको भई घर फिर्ता भएका छन् भने एक जना बृद्धको उपचारका क्रममा पोखरामा निधन भएको थियो । वालिङका २३ जना पुरुषहरु आईसोलेसनमा उपचाररत छन् छन् ।

स्याङ्जा जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यसअघि गल्याङ नगरपालिकाका दुई र वालिङ नगरपालिकाका एक जाना गरी हालसम्म सात जना निको भएर घर फिर्ता भएका छन् । एघार स्थानीय तह रहेको स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टिनहरुमा आठ सय ८१ जना रहेका छन् । हालसम्म स्याङ्जामा नौ सय ५५ जनाको स्वाब परीक्षण गरिएको छ भने एक हजार चारसय ७४ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्