Logo

‘सरिता गिरी देश छोड्’ भन्दै धादिङमा विरोध प्रदर्शन



काठमाडौं, १ असार । सांसद सरिता गिरीको विरोधमा धादिङबेशीमा आज युवाहरुले प्रदर्शन गरेका छन् ।गिरी सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा अद्यावधिक नक्सा संविधानको अनुसुचि अनुसार मिलाउन अघि बढाएको संविधान संशोधनको प्रस्तावको विपक्षमा उभिएकी थिईन् । गिरी विरुद्धमा युवा समुह धादिङले प्रर्दशन गरेको हो ।

उनले सरकारको संशोधन प्रस्ताव खारेजको माग राख्दै व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराएकी थिईन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले उनको प्रस्ताव खारेज भएको जानकारी दिएका थिए । लगत्तै, उनी संसद बैठक बहिष्कार गरेर संसद भवनबाट निस्किएकी थिईन् । उनको पार्टी समाजवादी पार्टी, नेपालले संशोधन प्रस्तावको पक्षमा मतदान गरेको थियो । संसद बैठक सुरु हुनुभन्दा अघि बढेको संसदीय दलको बैठकमा समेत संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । गिरीले पार्टीको ह्विप र निर्देशन उल्लंघन गरेकी छिन् । उनलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।

उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् । प्रदर्शनमा उनीहरुले देशद्रोही सरिता गिरी मुर्दावाद, सरिता गिरी देश छोड्, सरिता गिरीको सांसद पद खारेज गर जस्ता नारा लिएर विरोध गरेका थिए । राजन लम्सालको नेतृत्वमा भएको प्रदर्शनमा स्थानीय युवाहरु रवी भट्टराई, अष्मिता श्रेष्ठ, शम्भु लामिछाने, राजकुमार लम्साल लगायतको सहभागिता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्