काठमाडौँ, २ असार । प्युठान नगरपालिका–४ गाजुरीका विष्णु पोखरेलले कृषियन्त्र प्रयोग गरी खेती गर्न थालेको चार वर्ष भयो ।
गाउँमा पहिलोपटक ट्र्याक्टरमार्फत खेती गर्दा कम उब्जनी हुन्छ भन्ने सुनेका छिमेकीले पोखरेलको अग्रसरतालाई खुबै ख्याल गरे । ४५ मुरी धान उत्पादन हुने पोखरेलको खेतबाट ट्र्याक्टर लगाएर जोतेको वर्ष ५१ मुरी उब्जनी भयो । त्यसपछि छिमेकीमा समेत यान्त्रीकरणमा आर्कषण थपिएको छ ।
समयको बचत र कम लगानीमा ठूलो क्षेत्रफलमा एकै दिन काम हुने भएपछि कृषियन्त्रले सहजता ल्याएको बताउछन् । भर्खरै सरकारी जागिरबाट अवकाशप्राप्त गरेका पोखरेलको परिवारका सदस्यहरु काम र अध्ययनको सिलसिलामा घर बाहिर रहेका छन् । घरमा पशुचौपाय पाल्न पनि नसक्ने भएपछि खेत जोत्ने समयमा हरेक वर्ष गाउँभरी गोरु खोज्न हैरान भएका पोखरेल अहिले ट्र्याक्टरको प्रयोगले ढुक्क छन् । “सात रोपनी जमिनमा ५ हल गोरु नभई कामै थिएन”, पोखरेलले भने, “दुई घण्टामा ट्र्याक्टर लगाएर सबै सकियो ।”
हली गोरुले खेत जोत्दा पहिले रु आठ हजार ५०० पर्दथ्यो तर ट्र्याक्टरले जोत्दा त्योभन्दा सस्तो र छिटो रु पाँच हजार ८०० ले सकिएको अनुभव उनले सुनाए । विगत वर्षमा ठूलो ट्र्याक्टरले रोपाइँ गर्दा बढी माटो निस्कने भएकाले उब्जनी पनि बढी भएको उनले बताएका छन् ।
जिल्लाका अन्य अगुवा किसान पनि कृषिमा आधुनिकीकरण गर्दै कृषियन्त्रप्रति आकर्षित भएका छन् । ठूलो ट्र्याक्टर, हातेट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रमा किसानको आकर्षण थपिँदै गएको छ ।
सङ्घ, प्रदेश, स्थानीय सरकारले विभिन्न समूह तथा सहकारीमार्फत कृषियन्त्र वितरण गर्दा गाउँ–गाउँसम्म कृषिमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । समूह सहकारीले समेत अनुदानका कृषियन्त्रको व्यवस्थापन गर्दै किसानलाई सहजता प्रदान गरिरहेको अगुवा किसान तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड प्युठान नगरपालिका–७ पुन्यखोलाका अध्यक्ष गीता जिएमले बताएका छन् । “किसानको पहुँचमा कृषियन्त्र पुग्दा सहजता बढ्दै गएको छ”, अध्यक्ष जिएमले भने, “बाली लगाउनेदेखि भित्र्याउनेसम्म कृषियन्त्रको माग बढ्दो छ ।” परम्परागत साधनबाट खेतीपाती गर्दा व्यावसायिक बन्न नसकिने र समयअनुसार कृषिमा यान्त्रिकरणको खाँचो भएको सहकारीका अध्यक्ष जिएमले बताएका छन् ।
पहाडका टुप्पोमा समेत सडकको पहुँच पुगेपछि कृषियन्त्र पुग्नु सामान्य भएको छ । कुनै ठाउँमा ठूला र कुनै ठाउँमा पावर ट्रिलर, मिनीट्रिलर पुगेका छन् । सानायन्त्र पहाडमा पुग्दा थप सहजता भएको छ । पछिल्लो समय गाउँमा पशु चौपाया पाल्नेको सङ्ख्या घट्दो छ । गोरुले जोत्दा हप्तौँ लाग्ने किसानका बारीमा कम समयमा कृषि बाली लगाउने र भित्र्याउन सकिने भएपछि आकर्षण थपिएको जिएमको भनाइ छ । (रासस)