Logo

२ अर्ब ६६ करोड गैरकानुनी आर्जन गर्ने बैँकर योगेन्द्रविरुद्ध मुद्धा



असार २, काठमाण्डौ । बैंकर योगेन्द्र श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दयार गरेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दयार गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोव्वर जरिवाना माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्दै आएको समेत आरोप लागेको थियो । उनले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको समेत अनुसन्धानबाट खुलेको छ । उनले कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ ।

काठमाडौंको नागार्जुन–४ निवासी श्रेष्ठले छलपूर्वक एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने गरेको देखिएको अनुसन्धानबाट खुलेको हो । श्रेष्ठ नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला गर्ने बैंकरमध्ये एक मानिन्छन् । उनी अध्यक्ष रहेको फाइनान्समा दुई अर्ब घोटाला भएको यसअघि भएको अनुसन्धानले पनि देखाएको थियो ।

घोटाला काण्डपछि फरार श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेको थियो । तर, २०७१ को असार १२ गते सर्बोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो ।



प्रतिक्रिया दिनुहोस्