Logo

व्यापारिक मार्गको ६५ प्रतिशत काम सम्पन्न



काठमाडौँ, ३ असार । बारा जिल्लाको पथलैया, परवानीपुर, गण्डक, बहुअरीचोक, ड्राइपोर्ट हुँदै आइसिपीसम्म निर्माण भइरहेको व्यापारिक मार्गको हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सङ्घीय सरकारको रु पाँच अर्ब ५० करोडको लागतमा विस्तार भइरहेको छ लेनको सो व्यापारिक मार्गको लम्बाइ ३२ किलोमिटर छ । व्यापारिक मार्ग विस्तारअन्तर्गत जितपुर क्षेत्रमा काम गर्न ठेक्का लिएको शर्मा युनाइटेड कम्पनीले सो क्षेत्रको काममा ढिलासुस्ती तथा आलटाल गर्ने गरेकाले काम अगाडि बढ्न नसकेको व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज पथलैयाका योजना प्रमुख सञ्जयकुमार मिश्रले बताएका छन् ।

योजना प्रमुख मिश्रले काम गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरवाही, लामो समयदेखि लकडाउन लागू हुनु, सडक निर्माणमा काम गर्ने कामदार भारतीय भएकाले कोरोना सङ्क्रमणका कारण ती कामदार आ–आफनो घर भारततर्फ जानुजस्ता कारणले सो सडक विस्तारको काम प्रभावित भएको बताएका छन् ।

आगामी २०७७ पुस मसान्तसम्म काम पूरा गरिसक्नुपर्ने भनेर सम्झौता गरिए पनि ठेकेदार कम्पनीको कामप्रतिको उदासीनताका कारण तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिन्छ । सङ्घीय सरकारले बन्दाबन्दीमा पनि विकास निर्माणका कार्यलाई अगाडि बढाउनुपर्ने नीति अघि सारेपछि रोकिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्गको काम शुरु गरिएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने सिमरादेखि पथलैयासम्मको सडक खण्डमा कालोपत्र गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्