काठमाडौँ, ३ असार । पूर्वी चितवनका एक युवाले शिक्षण पेशा छाडेर कागती खेतीमा राम्रो मुनाफा लिन सफल भएका छन् ।
कालिका नगरपालिका–६ जमुनापुरका सिपी अधिकारीले निजी बोर्डिङ र क्याम्पस पढाउन छाडेर पेशागतरूपमा कागती खेती गर्न शुरु गरिएको हो । अधिकारीले आफ्नो एक बिघा र भाडाको एक बिघा १० कठ्ठामा कागती खेती गरिएको हो । पाँच वर्षअघि आफ्नो जमीनबाट खेती शुरु गरेका उनले दोस्रो वर्ष भाडामा जग्गा लिएर खेती विस्तार गरिएको थियो ।
अधिकारीका अनुसार पहिलो वर्ष ३५० बिरुवा र दोस्रो वर्ष ६५० बिरुवा रोपेको थियो । तेस्रो वर्षबाट उत्पादन शुरु भएको हो । अधिकारीले कागती लगाएको तेस्रो वर्ष रु तीन लाख र चौथो वर्ष रु आठ लाख आम्दानी गरिसकेको छ । यस वर्ष रु १० लाखको कागती बिक्री गर्ने उनको लक्ष्य छ । असार १५ देखि चैतसम्म उनको कागती बिक्री हुने गर्दछ ।
यस वर्ष पाँच बिघा थप गर्ने लक्ष्य रहेको भए पनि लकडाउनका कारण सम्भव नभएको उनले बताएका छन् । आउँदो वर्ष उनले खेती बिस्तार गर्दै छन् । वर्षमा रु एक लाख ५० हजारदेखि दुई लाखसम्म खर्च हुने भए पनि आम्दानी राम्रो हुने गरेको उनको भनाइ छ । कागती लगाउँदा प्रतिबिरुवा रु १८५ मा खरिद गरेपछि पछिल्ला वर्षहरुमा गोडमेल र औषधि उपचारमा मात्र खर्च हुन्छ ।
भाडाको जग्गाको वार्षिक प्रतिकठ्ठा रु तीन हजार तिर्नुपर्ने हुन्छ । विज्ञानमा स्नातक गर्नुभएका अधिकारीका लागि पढाउन जहाँ कहीँबाट बोलाउने गरिन्थ्यो । त्यसो त ट्युसन, कोचिङमा पनि राम्रो आम्दानी हुन्थ्यो तर ती सबै छाडेर शुरुमा बाख्रा पाल्दा त्यति सफल हुन नसकेपछि उनले कागती खेतीमा हात हालेको बताएका छन् । सत्र वर्ष शिक्षण पेशाको अनुभव सँगालेका उनी यतिबेला कागतीको अध्ययन–अनुसन्धानमा पनि व्यस्त छन् ।
कागतीको बिरुवा उत्पादन गर्ने तयारीमा उनी जुटेको छ । भारतीय कागती नेपाली बजारभरि हुने तर हामी बाँझो खेत र खाली हात बसिरहेको भन्दै उनले मेहेनत ग¥यो भने यहीँ मनग्य आम्दानी हुने बताएका छन् । चितवनको बजारमा मात्र एक सातामा २० टन भारतीय कागती बिक्री हुने उनको भनाइ छ । कालिका नगरपाकिलामा १० जनाले व्यावसायिक कागती खेती गरेका छन् । जिल्लामा यो सङ्ख्या ५० हाराहारी रहेको छ । यहाँ १०० बिघामा कागती खेती भएको अनुमान छ । (रासस)