काठमाडौं , ३ असार । नेपालमा भदौ महिनामा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुग्ने आँकलन गरिएको छ । केरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले सो कुरा बताएका हुन् । विश्व स्वास्थ्य संगठनले संसारभरको अवस्था हेर्दा साउनमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको थियो । नेपालमा एक महिना थपिएर भदौमा पुग्ने प्रक्षेपण सीसीएमसीको छ ।
अहिलेको संक्रमितको दर र फैलावट हेर्दा भदौको आधाआधी लाग्न सक्ने निष्कर्ष निकालिएको उनले बताएका हुन् । “लकडाउन खुकुलो तुल्याएर जनजीवनलाई केही सहजीकरण गरेका छौं । कोरोना सङ्क्रमण घट्दो क्रममा रहेकाले होइन । अहिलेसम्मको परिस्थितिको आँकलन गर्दा भदौमा मात्रै पिकमा पुग्ने देखिएको छ । यसमा तलमाथि हुनसक्छ,” मन्त्रालयमा पत्रकारहरूसँगको सामुहिक भेटघाटमा पोखरेलले भने ।
पोखरेलले अहिलेसम्म कोभिड–१९ नियन्त्रणमै रहेको दाबी गर्दै दैनिक दश हजार स्वाब परीक्षण गरिने बताए । “अहिले दैनिक ६ सय स्वाब परीक्षण हुँदै आएको छ । अब हामी छिट्टै बढाएर दश हजार पु¥याउँछौं । परीक्षण बढ्ने बित्तिकै कोरोनाको फैलावट थाहा हुन्छ । थप कदम चाल्न सजिलो हुन्छ,” उनले भने ।
बुधबार अपराह्नसम्म देशभर १ लाख ४९ हजार ७ सय ७२ पीसीआर टेस्ट गरिएको छ । नेपालमा हालसम्म ७ हजार एक सय ४४ जनामा संक्रमण देखिएको छ । केही दिनयता दैनिक पाँच सयको संख्यामा संक्रमण हुन थालेको छ। यही हिसाबले भदौसम्म संक्रमितको संख्या ५० हजार पुग्ने जोखिम छ ।
हाल नेपालमा संक्रमितमध्ये ७५ प्रतिशत भारतबाट आएकाहरु छन् । गत सातादेखि लकडाउन खुुकुलो भएसँगै संक्रमण फैलने जोखिम समेत बढेको छ ।-दृष्टिबाट File Photo