Logo

सुरक्षा प्रमुखहरू दार्चुला पुगे



काठमाडौँ, ४ असार ।  नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआइजी उत्तम सुवेदीले नेपाल–भारत सीमा क्षेत्र व्यास गाउँपालिका वडा नम्बर १ को निरीक्षण भ्रमण गरेका छन् ।

बुधबार बिहान १० बजे हेलिकप्टरमार्फत दार्चुला आइपुगेका उनीहरूले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक नजिकै छाङरुमा स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी), नेपाली सेनाको अस्थायी वेस क्याम्प र दार्चुला–तिङ्कर सडकको निरीक्षण गरिएको सशस्त्र प्रहरी दार्चुलाका डीएसपी डम्बरबहादुर विष्टले जानकारी दिएका छन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, प्रधानसेनापति थापा र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बिहान १० बजे नै काठमाडौंँबाट धनगढी हुँदै दार्चुला सदरमुकाम पुगेको थियो । गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो ।

बुधबार दिउँसो दार्चुला सदरमुकाम खलङ्गामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवनसमेत उद्घाटन गरिएको डीएसपी विष्टले बताएका छन् ।  सेना प्रमुखले सीमा अतिक्रमित क्षेत्र अवलोकन गरेको पहिलोपटक हो । उनीहरू दार्चुला सदरमुकामबाट घाँटीवगर र त्यसपछि छाङरु पुगेको थियो । घाँटीवगरबाट तिङ्कर हुँदै छाङरु पुग्न नेपाली सेनाले ७२ किलोमिटर घोडेटो बाटो निर्माण गरिरहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्