काठमाडौं, ४ असार । कोरोना रोकथाम तथा नियन्त्रणको प्रमुख जिम्मेवारीमा रहेका मन्त्रीहरुबीच नै बोलचाल बन्द रहेको खुलेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालबीच पछिल्लो समय बोलचाल नै ठप्प भएको मन्त्रालय स्रोतको दाबी छ । सरकारले पोखरेलको नेतृत्वमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति समेत गठन गरेर काम गरेको थियो । तर, पोखरेलले सुरुदेखि नै उच्चस्तरीय समन्वय समितिलाई बेवास्ता गर्दै ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सिसिएमसी) गठन गरेको आरोप छ ।
उनले सिसिएमसीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भने ठाउँ दिएनन् । सुरुमा छाउनीमा स्थापना गरिएको उक्त सिसिएमसीको कार्यालय पछि पोखरेलकै जोडबलमा सिंहदरबार सारिएको थियो । सिसिएमसीमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र सुरक्षा निकायका प्रमुख रहेका छन् । सिसिएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापनजस्ता कामहरु गर्दै आएको छ । तर, कोरोना रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको स्वास्थ्य मन्त्रालयलाई भने पोखरेलले पूरै बेवास्ता गरेका छन् ।
रक्षामन्त्रीको स्पष्टीकरण : सेनामार्फत किनिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको छैन
आफूलाई भूमिकाविहीन बनाउन खोजेको भन्दै मन्त्री ढकाल रक्षामन्त्री पोखरेलसँग रिसाएको बुझिएको छ । अहिले उनीहरुबीच बोलचाल नै बन्द भएको मन्त्रालय स्रोतको दाबी छ। पछिल्लो समय पोखरेलको नाम सेनालाई अघि सारेर स्वास्थ्य सामग्री खरिद गर्दा ठूलो रकम अनियमितता गरेकोमा मुछिएको छ । तर, उनले भने सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीमा कुनैपनि अनियमितता नभएको जिकिर गर्दै आएका छन् ।