Logo

सुनको मुन्द्री लुटपाट गर्ने र लुटेको खरिद गर्ने दुवै पक्राउ



बैतडी, ४ असार । सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका सुवाकोटका बिर्खु भन्ने बिर्ख लुहार र सिगास गाउँपालिकाका प्रकाश सिहं बोहरा रहेका छन् । पक्राउ परेका मध्ये लुहार मुन्द्री लुटपाट गर्ने तथा बोहरा लुहारले लुटेको मुन्द्री किनेको प्रहरीले बताएको छ ।

सिगास गाउँपालिका अगुरालीका महिला गत आइतबार घर नजिकै जंगलमा घाँस काट्न गएको अवस्थामा उनले कानमा लगाएको १ तोला बराबरको सुनको मुन्द्री लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा लुटपाटमा संलग्न लुहारलाई सिगास गाउँपालिका पुनर डुङरी भन्ने स्थानबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाको थप अनुसन्धान गर्ने क्रममा लुहारले उक्त मुन्द्री बोहरालाई बेचेको खुल्न आएपश्चात बोहरालाई समेत सिगास गाउँपालिका लेकबाट प्रहरीले पक्राउ गरेको हो । साथै बोहराको घरभित्र लुकाई राखेको अवस्थामा सुन जस्तो देखिने पहेंलो रङको २ थान मुन्द्री समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्