Logo

भारतीय मिडियामा नेपालको नयाँ नक्शा दुवै सदनले पारित गरेको समाचार प्राथमिकतामा



काठमाडौं, ४ असार । आज नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक राष्ट्रियसभाबाट पारित भएको विषयमा भारतमा चासो देखिएको छ । भारतीय मिडियाले ब्रेकिङ समाचारका रुपमा यसलाई प्राथमिकता दिएका छन् ।

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले मुख्य समाचार बनाएको छ । उसले सर्वसम्मतले विधयेक पारित भएको विषय प्रकाशित गरेको छ । तर, नयाँ नक्शामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको भुमि भएको दाबी गरेको छ ।

इन्डियन एक्सप्रेसले पनि प्राथमिकताका साथ विधयेक पारित भएको समाचार प्रकाशित गरेको छ । उसले अब विधयेक पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष स्वीकृतिका लागि जाने उल्लेख गरेको छ ।

द हिन्दुस्तान टाइम्सले पनि भारतको असन्तुष्टि रहेको विषय समावेश गरी नक्शा विधयेक पारित भएको समाचार प्रकाशित गरेको छ । द हिन्दुले पनि यही आशयको समाचार प्रकाशित गरेको छ ।

आज राष्ट्रियसभामा दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा विधयेक पारित भएको हो । विधयेकको पक्षमा ५७ र विपक्षमा सुन्य मत परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधयेक पारित भएको घोषणा गरेका हुन् ।

यसअघि यसअघि नयाँ नक्शासम्बन्धी संविधान संशोधन प्रतिनिधिसभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभामा कोही पनि विपक्षमा रहेनन् । केही सांसद भने अनुपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्