Logo

गण्डकी प्रदेशमा २४ जना सङ्क्रमित थपिए, ३४ निको भए



काठमाडौँ, ५ असार । गण्डकी प्रदेशका कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा छ, बागलुङमा १४, नवलपरासी र स्याङ्जामा दुईरदुई जना सङ्क्रमित थपिएका छन् । कास्कीमा सङ्क्रमितमा पोखरा महानगरपालिकाका ४१, १९, १९ वर्षका पुरुष र ३० र ५६ वर्षका महिला तथा रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुष छन् ।

त्यसैगरी बागलुङमा गलकोट नगरपालिकाका ३५, ३८, ३०, २२, १९, ४५ वर्षका पुरुष, ४२ र ३० वर्षका महिला, काठेखोला गाउँपालिकाका २४, २९, २२, २०, २३ र १९ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुष र पालिका नखुलेको एक ६३ वर्षीय पुरुष तथा नवलपरासीमा विनय त्रिवेणी गाउँपालिकाका २८ र २० वर्षका पुरुषमा सङ्क्रमण फेला परेको जनाइएको छ । नयाँ सङ्क्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिएका छन् । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा सङ्क्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३४८ पुगेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्