Logo

सोती घटना : थुनछेक बहस शुरु, पहिलो दिन ५ सरकारी वकिलको बहस



रुकुमपश्चिम, ५ असार : सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस शुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु भएको हो ।

सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस शुरु भएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

पहिलो दिन आज वादीका तर्फबाट पाँच सरकारी वकिलले बहस गरेका छन् । बाँकी बहस आइतबार हुने स्रेष्तेदार बोहराले बताउनुभयो । उहाँका अनुसार आइतबार जाहेरीवालाका तर्फबाट बहसका लागि वकालतनामा पेश गरेका वकिलले बहस गर्ने छन् । वादी र जाहेरीवालाका तर्फका वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्ने उहाँको भनाइ छ । अहिलेसम्म वादी र जाहेरीवालाका तर्फबाट पाँच सरकारी वकिलसहित १६ र प्रतिवादीका तर्फबाट सात वकिलले बहसका लागि रुकुम अदालतमा वकालतनामा पेश गरेका छन् ।

थुनछेक बहस कुन दिन सकिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नहेको अदालतका स्रेष्तेदार बोहराले बताउनुभयो । बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ । घटनाको अभियोग लागेका ३४ मध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् । पाँच जना अझै फरार छन् । दुई नाबालकलाई भने सोमबार नै मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन रुकुम अदालतले आदेश जारी गरेको थियो ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्