Logo

भारतद्वारा चीनसँगको सिमा नजिक युद्धक विमान र सैनिक थप, समुन्द्रमा युद्धपोत तयारी अवस्थामा



एजेन्सी, ५ असार । भारतले चीनसँगको सम्भावित युद्धको खतरालाई दृष्टिगत गरी आन्तरिक तयारी तिव्र पारेको छ । भारतीय सैनिक विमानहरुलाई तयारी अवस्थामा राखिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भारतीय हवाई सेनाका सेनापति आरकेएस भादुरियाले श्रीनगर र लेहको दुई दिने भ्रमण गरेका छन् । उनले चीनसँगको तनावलाई लिएर आवश्यक तयारीका लागि यो भ्रमण गरेको जनाइएको छ ।

गत सोमबार मध्यरातसम्म सिमामा चिनियाँ सैनिकसँगको भिडन्तमा २० सैनिक दिवंगत हुनुको साथै ७६ जना घाइते भएपछि भारतले आवश्यक तयारी गरेको हो । त्यहाँ भारतको अपाचे हेलिकोप्टर देखि विभिन्न युद्धक विमान तयारी अवस्थामा राखिएको छ ।

श्रीनगरमा रहँदा भारतीय हवाई सेना प्रमुख भादुरियाले हवाई सैनिक अधिकृतहरुसँग बैठक राखेका थिए ।

यसैगरी भारतको नौसैनिक जहाजलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको टाइम्स अफ इन्डियाले लेखेको छ । हिन्द महासागरमा चीनको नौसैनिक जहाजले नियमित उपस्थिति जनाइरहेकोमा भारतको नौसैनिक जहाज पनि तयारी अवस्थामा राखिएको उल्लेख छ ।

भारतको स्थल सेनाको थप टुकडी चीनसँगको सिमा क्षेत्रमा लगिएको छ । लाइन एट कन्ट्रोल भनिने सिमाको अरुणाञ्चल, उत्तराखण्ड, हिमाञ्चल प्रदेश र लदाखमा पनि थप सैनिक लगिएको छ । भारतीय हवाई फोर्स पनि आधार क्षेत्रमा बढाइएको छ । सिक्किम, आसाम र अरुणाञ्चलमा त्यस्ता फोर्सको संख्या वृद्धि गरिएको हो ।

File Photo: Agency



प्रतिक्रिया दिनुहोस्