असार ५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको भाषण वा अभिव्यक्ति सधैँ चर्चामा रहन्छ । पछिल्लो समय संसदमा बोलेका कुरा चर्चाभन्दा धेरै विवादित हुने गरेको छ । त्यस्तै भयो विहिबार राष्ट्रियसभामा बोलेका कुरा । कोरोना भाइरसबाट बच्ने उपायबारे सुझाब दिदा ओलीको आलोचना भएको हो ।
प्रधानमन्त्री केपी ओलीले पटकपटक कोरोनाबाट बँच्ने उपाय बताउँदै आएका छन् । यसरी सुझाब दिँदा यथार्थभन्दा बाहिर गएर बोल्ने गरेको भन्दै हरेकपटकको अभिव्यक्ति विवादमा परेको छ । विहिबार राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालमा कोरोनका कारण २–३ जनाको मात्रै मृत्यु भएको बताए । जबकी प्रधानमन्त्रीले सम्बोधन गर्दाको समयसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कारण २० जनाको मृत्यु भइसकेको पुष्टि गरेको थियो । तर प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मात्रै सबै मृत्युलाई कोरोनाको कारण भन्नुपरेको, वास्तवमा भने २–३ जनाको मात्रै मृत्यु भएको बताए ।
ओलीको यो भनाईलाई विज्ञहरुले खण्डन गरेका छन् । अन्य रोग लागेको व्यक्तिलाई कोरोना लागेपछि मृत्यु भएको भन्दैमा त्यसलाई अमान्य घोषणा गर्न नहुने विज्ञहरको तर्क छ । र विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस संक्रमण भएको व्यक्तिको मृत्यु भएमा अन्य कारण मान्न पाइदैन ।
विहिबार नै प्रधानमन्त्रीले बोलेको अर्को विषय अहिले निकै चर्चामा छ । कोरोना भाइरसलाई निस्तेज पार्नका लागि बेसारको सेवन उचित हुने उनले बताए । त्यति मात्रै होइन, जन्डिस लागेको छ भने रक्तअल्पत्ता भएको छ भने बेसार खानु नहुने बताए ।
त्यसैगरी गर्भवती र सुत्केरी महिलाले तथा आइरन र ब्लडको कमी छ भने बेसार खानु नहुन सुझाब दिनुभयो । त्यसैगरी नेपालीहरुमा रोगप्रतिरोधात्मक क्षमता धेरै भएकाले कोरोना संक्रमण र मृत्यु कम भएको प्रधानमन्त्रीको भनाईलाई पनि विज्ञहरुले गलत भनेका छन् । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले प्रधानमन्त्रीले भनेको अधिकांश कुरा चिकित्सकीय हिसाबले प्रमाणित नभएको बताए ।
यसअघि प्रतिनिधिसभामा पनि प्रधानमन्त्रीले यस्तो भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो । तर विज्ञहरुको सुझाबलाई प्रधानमन्त्री ओलीले वेवास्ता गर्दै आएका छन् ।
एमसीसीबारे…
अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जसरी पनि संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी ओलीको लक्ष्य छ । तर पार्टीभित्रैबाट एमसीसीको विरोध भइरहेको छ । त्यसैले होला, विहिबार राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्रीले एमसीसीको अध्ययन नै नगरेकाहरुले विरोध गरेको आरोप लगाए । तर विरोध गर्नेहरुले भने प्रधानमन्त्रीको आरोप गैरजिम्मेवार भनेका छन् ।
पछिल्लो एक वर्ष सत्तारुढ दल नेकपा एमसीसीका कारण सकसपूर्ण समय विताउन बाध्य भएको छ । एमसीसी नेपालको हितमा छ भन्ने प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिदै वरिष्ठ नेता झलनाथ खनाल, संसदीय दलका मुख्य सचेतक देव गुरुङ र स्थायी कमिटि सदस्य भीम रावलले प्रतिवाद गरिरहेका छन् । एमसीसी नेपालको हितमा छ भन्ने ओलीको अडानलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि साथ दिन सकेका छैनन् । पार्टीभित्रैबाट साथ नपाएपछि ओली एक्लो जस्तो बन्नुभएको छ । त्यसैले होला एमसीसीको विरोध गर्नेहरुप्रति आक्रोषित ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दा कटाक्ष गरे । सम्बोधनका क्रममा ओलीले एमसीसीबारे अध्ययनन नगर्नेहरुले विरोध गरेको भन्दै राम्रोसँग पढ्न सुझाब पनि दिएका थिए ।
पार्टीभित्रकै विरोधीहरुमाथि आक्रोषित भएपछि एमसीसी संशोधन गरेर मात्रै कार्यान्वयनमा लैजानुपर्छ भन्नेहरु थप रुष्ट बनेका छन् । पार्टीको आधिकारिक धारणा नबनीसकेको अवस्थामा प्रधानमन्त्रीले जथाभावी बोलेको भन्दै वरिष्ठ नेता खनालले ओलीलाई गैरजिम्मवार भनेका छन् ।
नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालले आफूहरुले गहन अध्ययन गरेर एमसीसी नेपालको हितमा नभएको ठहर गर्दै प्रतिवेदन तयार पारेको जिकिर गरे ।
एमसीसी नेपालका लागि खतरा छ भन्दै आउनुभएका प्रमुख सचेतक गुरुङले पनि के बोल्न हुने र नहुनेमा प्रधानमन्त्रीले ख्याल नगरेको भन्दै आपत्ति जनाए ।
एमसीसीको विषयमा नेकपाभित्र निर्णय हुन सकेको छैन । पटकपटक सचिवालय र स्थायी कमिटि बैठकको मिति तय भएर पनि स्थगित हुँदै आएको छ । पछिल्लो समय आगामी असार १० गतेका लागि स्थायी कमिटि बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसीबारे गहन छलफल हुने छ । तर नेताहरु विभाजित भएकाले के निर्णय हुन्छ भनेर अनुमान गर्न सकिने अवस्था छैन ।