Logo

नक्सा हाम्रो हातमा जग्गा भारतको हातमा रहने अवस्थाले प्रधानमन्त्रीले विषयलाई अन्यत्र मोड्न खोज्नुभयो- विश्वप्रकाश शर्मा



काठमाडौं, ५ असार । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मीठो शैलीमा तीखो प्रहार गर्न खप्पिस छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा पार्न खोजिरहेको आरोप लगाएका छन् । विषयलाई अन्यत्र ध्यान मोड्न अनेकन रणनीति चाल्न खोजिरहेको तर्क गरेका छन् । यीनै विषयमा शर्मासँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोना रोकथामको लागि सरकारले जसरी कदम चालेको छ, त्यसमा नेपाली कांग्रेसको असन्तुष्टी हो ?
नेपाली कांग्रेस पार्टीको सन्तुष्टि, असन्तुष्टि भन्ने भन्दा पनि अहिले सरकारले ६ महिनाको समयावधि माग्यो । त्यसमा सरकारले जे गरिरहेको छ, भारतसँग लड्न गरिरहेको भन्ने आमनेपाली नागरिकलाई भएको छ । जानकारी मात्रै होइन पुष्टि भएको छ । त्यसकारण चौतर्फी रुपमा दुई चित्र देखिएको छ । त्यो चित्रलाई हामीले सरकार समक्ष राखेका छौं । सरकार यहाँ क्वारेन्टाइनको राम्रो व्यवस्था भएन, राहतको व्यवस्था भएन, स्वास्थ्य सामाग्री पुगेन, उद्दार गर्नुपर्ने सन्दर्भमा रुवावासी भइरहेको छ, भनेर हामीले स्वदेशबाट मात्रै होइन स्वदेश र विदेश गरी १२० ठाउँबाट असार २ गते एकसाथ सम्माननीय प्रधानमन्त्री समक्ष विशेष ज्ञापनमार्फत बुझाएका छौं ।
ज्ञापनपत्र बुझाउँदैमा प्रधानमन्त्रीले त्यसको सम्वोधन गर्नुहुन्छ भन्ने तपाईंलाई विश्वास छ ?
प्रधानमन्त्रीले के–कस्तो शैली अपनाउनुभएको छ, यहाँहरुलाई थाहा नै छ । त्यही दिन पनि साथीहरुले भन्नुहुन्थ्यो हामीले १५ मिटेनजतिमा ज्ञापनपत्र वाचन ग¥यौं र त्यो उहाँलाई हस्तान्तरण पनि ग¥यौं । संसारभरि नेपालीहरुले भोगिरहेका पीडा पनि राख्यौं । देशभरिका जनतामा परेको समस्याको व्यवस्थापन गराउन आग्रह पनि ग¥यौं । त्यसपछि प्रधानमन्त्रीजीले लामो सम्वोधन गर्नुभयो । त्यो सम्वोधनमा १० मिटेनजति बेसारको ब्याख्यामा लगाउनुभयो भनेर त्यहाँ जाने साथीहरुले भन्नुभयो । प्रधानमन्त्रीजीले बेसारको कुरा गर्दा हामी आपत्ति मान्दैनौं । त्यसमा केही आयुर्बेदिक कुरा होलान्, केही इमिनिटी पावर बढाउने कुरा होला । तर, प्रधानमन्त्रीको कर्तव्य त्यति मात्रै होइन । अहिलेको सारा व्यवस्थापनको लागि नेतृत्व गर्ने हो । उहाँले गर्नुहोला नगर्नुहोला अलग कुरा हो । तर, विषयवस्तुमा गम्भीरता संवेदशीलता देखिँदैन । अहिले जसरी हुटिट्याउँले शागर थामेजस्तो गरेर सारा मैले व्यहोर्नुपर्छ भन्ने जुन भ्रम छ, त्यो होइन । उहाँलाई हामी प्रस्ट गराउन चाहन्छौं । कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने जम्मा तीनवटा काम छन् । ती तीनवटा काम गरे पुग्छ । पहिलो स्वास्थ्य सामाग्री त्यसभित्र टेष्ट किटदेखि सबै पर्छ । यी सबै व्यवस्थापनको काम केन्द्रीय सरकारले गर्ने । दोस्रो विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउने । र तेस्रो कुरा ७५३ वटै स्थानीय तहहरुलाई राहत र क्वारेन्टाइनको व्यवस्थापन गर तिमीलाई चाहिने रकम पठाइदिने छौं भन्नुप¥यो । यीबाहेक केन्द्रीय सरकारले चौथो काम केही गर्नुपर्दैन ।
तपाईंहरुले सरकारको काम राम्रो भएन भनिरहँदा प्रधानमन्त्रीले त कोरोना नियन्त्रणको सरकार सफल भयो भनेर जिकिर गर्नुभयो नि ?
रेकर्ड त उहाँले राम्रै गर्नुभएको छ । त्यसमा एउटा शब भन्ने शब्द हुन्छ, अर्को स्वाब भन्ने शब्द हुन्छ । हामीले सधैं भन्ने गरेका छौं ‘प्रधानमन्त्रीज्यू स्वाब परीक्षण गरौं’ भनेर । हामीले बेलैमा स्वाब परीक्षण गरौं भनेको उहाँले शव सुन्नु भएछ । अनि मर्नेबित्तिकै शब परीक्षणमा चाहीं अहिलेसम्म ढिलाइ भएकोे छैन । सरकारले नमरीकन स्वाब परीक्षण गर्न ढिला गर्ने र मरेपछि शब परीक्षण गर्न चाहीं तदारुकता देखाउने काम गरेको छ । त्यसकारण प्रधानमन्त्रीजीले काम गर्नुभएको छैन म भन्दिन । काम गर्न खोज्नुभएन पनि भन्दिँन । तर, काम गर्न खोज्दै गर्दा जति ढंग पु¥याउनुपर्ने हो त्यो भएको छैन । एउटा चुल्होमा केही पकाउँदै गर्दा बल्दै गरेको आगोलाई कसरी ढुंग्रीले फुकेर बढाउने भन्ने कुरा थोरै तागत भए पुग्छ । त्यो आगोबाट सिंगो घर जल्नतर्फ लाग्यो भने धेरै क्षेति हुन्छ । हुँदाहुँदा दमकल नै बोलाउनुपर्ने अवस्था हुन सक्छ । प्रधानमन्त्रीजीले के बुझिरहनुभएको छ भने घरको तल्लो तलामा आगो लागेको छ । उहाँ माथिल्लो तलामा हुनुहुन्छ । तल्लो तलामा लागेको आगो माथिल्लोमा कहाँ आउँछ भन्ने अवस्थामा हुनुहुन्छ । त्यसले प्रधानमन्त्रीजीले गर्नुपर्ने काममा गाम्भीर्यता देखिएन । उहाँको काम गर्ने शैली र क्षमता पनि पुगेन ।
कोरोनाको संक्रमण ह्वात्तै बढ्न थाल्यो, अब कांग्रेसले कस्तो कदम चाल्नुपर्छ ?
नेपाली कांग्रेसले त सुरुदेखि जब चीनको बुहान संक्रमणदेखियो पहिलो चोटी र चीनमा भएका नेपालीहरुलाई लिएर आउने बेलादेखि अहिलेसम्म सरकारलाई सुझाव दिने, दबाब दिने कर्म गरिरहेको छ । हामीले जुन बेलामा भनेका थियौं, त्यो सुनिदिएको भए सायद यस्तो परिस्थिति आउँदैनथियो । हामीले त सुरुमै अन्तर्राष्ट्रि उडानहरु बन्द गर्नुहोस् । र, खाली नेपालीहरुलाई उद्दार गर्ने कामभन्दा बाहेक अन्य देशका नागरिकहरुलाई आउन बन्द गर्नुहोस् भनेका थियौं । विदेशबाट उद्दार गरेर ल्याइएका नागरिकहरुलाई क्वारेन्टाइमा राख्नुहोस् । उत्तर र दक्षिणका जति पनि खुल्ला नाकाहरु छन् । तिनलाई कडाईं गर्नुहोस् । आउँदै गरेका नेपालीहरुलाई कडाईंकासाथ क्वारेन्टाइनमा राख्नुहोस् । त्यसपछि पीसीआर परीक्षण गरेर मात्रै घर पठाउनुहोस् भनेका थियौं । यी कामहरु गम्भीरपूर्वक लागेर गरेको भए यस्तो महामारीको सामना गर्नुपर्ने थिएन । अर्को कुरा त्यतिछिट्टै लकडाउन गर्नुपर्ने थिएन । यदि नेपाली कांग्रेसले फागुन १९ गते तयार गरेको १४ बुदाँलाई सरकारले राम्रोसँग ध्यान दिएर पढेको भए सरकारले आज लकडाउन नगरिकन खुल्ला राख्ने अवस्था हुन्थ्यो । यतिबेला स्कुल, कलेजहरु चलिरहेका हुन्थे । सभासम्मेलन, हल, सबै खुल्ला हुन्थे होला । सरकारले समयमा ध्यानपूर्वक काम गरेन । अहिले पनि सरकारले हामीले भनेजस्तो काम ध्यान दिएर गरेमा यो महामारी जहाँ आइपुगेको छ त्यही रोक्न हामी सफल हुनेछौं ।
विदेशी बुहारीहरुलाई तत्काल नागरिकता दिने पक्षमा पक्षमा कांग्रेस हो ?
नेपाली कांग्रेस पार्टी तत्काल, दीर्घकाल भन्ने कुरामा होइन । नेपाली कांग्रेस पार्टीले यस्तो महत्वपूर्ण विषयमा राजनीतिक दलकोबीमा सम्बभ भएसम्म अधितम राष्ट्रिय सहमति हुनुपर्छ । यद्यपि हामी विगतमा जहाँ सहमत भएका थियौं । २०६३ सालको अन्तरिम संविधान बनाउँदै गर्दा त्यो संविधानको धारा, उपधारमा हामीले जे लेखेका छौं । त्यो विषयमा हामी सबैले सहमतिपूर्वक बनेको जुन विषय छ । त्यसमा विवादको विषय बनाउनु उचित होइन भन्ने पहिलो कुरा हो भने दोस्रो विषय कोरोना महामारीको यत्रो विकराल कुरासँग जोडिइरहेका छौं । अर्कोतर्फ अस्ति मात्रै नक्सा पारित गरेर भारतसँग सीमासम्बन्धी समस्यामा जकडिएका छौं । यही बेलामा एक वर्षदेखि अड्केर बसेका फाइलहरु जुन नागरिकतासम्बन्धी विवादमा परेका थिए । त्यसलाई अहिले नै टुंग्याउनुपर्ने यो छलफलको अहिलेको विषयवस्तु त थिएन । त्यो संसदीय समितिमा थियो । त्यसैले तपाईंको कार्यक्रममार्फत नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु । प्रधानमन्त्री विभिन्न नचाहिने विषय उठाएर जनतालाई झुक्याउन खोजिरहनुभएको छ । नक्साको विषयमा गतिशील ढंगबाट कुटनीतिक पहल खोई ? नक्सा हाम्रो हातमा जग्गा भारतको हातमा रहने अवस्थाले जल्दाबल्दा विषयलाई अन्यत्र मोड्न लागेको कुरा स्पष्ट भयो कि भएन ? खोइत कुटनीतिक पहल गरेको नक्सा पारित गरेर मात्रै त भएन होला नि ? क्वारेन्टाइनमा आत्महत्यासम्म भएको छ । अर्घाखाँचीमा एउटा ४३ वर्षीया युवकले आत्महत्यासम्म गरेका छन् । त्यहाँ सरकारको ध्यान जानुपर्छ कि पर्दैन ? अहिले जुन विषयमा सरकार जानुपर्ने हो त्यो विषयबाट ध्यान मोड्न गर्नको लागि सरकार लागिपरेको छ । हिजो हामी एमाले, माओवादीले जुन सहमति गरेका थियौं त्यही अनुसार जाओ न हामी किन अन्त जानुप¥यो ।
राज्यव्यवस्था समितिले प्रष्ट रुपमा भनेको छ, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षभित्र नागरिकता पाउने प्रस्त व्यवस्था गरेको छ, त्यसमा कांग्रेस सहमत छ ?
नेपालमा यो विषय अहिले छलफलको क्रममा छ । त्यसलाई राज्यव्यवस्था समितिले स्पष्ट रुपमा भनेको छ । यसमा राज्य व्यवस्था समितिले निर्णय गरिसकेको अवस्था होइन । राज्यव्यवस्था समितिको निर्णयले प्रक्रियाको लागि छलफल भइरहेको छ । यस्तो विषयलाई अहिले नै छलफलमा लिएर जानुपर्ने कति सान्दर्भिक थियो । यो बेलामा यस्ता विषयमा अल्झेर बस्ने हो । अहिले भनेको कोरोनालाई नियन्त्तणको लागि सबै लाग्नुपर्ने हो । यो सरकारको ध्यान कतातिर गएको छ । हरेक बेलामा कुन विषय ल्याएर कोरोनाको महामारीतिर मान्छेको केन्द्रित गर्नुपर्नेमा अन्यत्र विषय ल्याएर मोड्न खोजिएको छ । यो नागरिकताको विषयमा राज्यव्यवस्था समितिले निर्णय गरेको भन्ने होइन । त्यो छलफलको क्रममा छ । यो छलफलको क्रममा हुँदै गर्दा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा यसमा हामी राजनीतिक दलहरु कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरुको एउटा साझा सहमति बनाउनुपर्छ । नेपाली कांग्रेस पार्टीले केन्द्रीय कार्यालयमा पहिले ड्राफ बनाएर यसलाई मान्नुपर्छ भन्ने हिसाबले कुनै सम्बोधन गरेको छैन । हामी अघिल्लो सहमतिमा जहाँ छौं त्यसैमा हाम्रो अडान रहने छ ।
अहिले कांग्रेस सरकारले ल्याएको प्रस्तावमा छैन हो ?
सरकारले ल्याएको प्रस्ताव भन्नाले सरकारले अहिले के प्रस्ताव ल्याएको छ ?
सातवर्षभित्र मात्रै नागरिकता पाउने भनेर प्रस्ताव ल्याएको छ नि ?
सरकारले ल्याएको प्रस्ताव भनेर अहिले गृहमन्त्रीले यो अलि अगाडि देखिनै संसद्रीय समितिमा छलफलको क्रममा थियो । एक वर्ष अगाडिदेखि नै अड्केर बसेको विषय हो । त्यसरी अड्केर बसेको विषयलाई उपयुक्त समयमा निराकरण जानुपर्ने आवश्यकता छँदैछ । त्यो निराकरण जाँदै गर्दा हामीले गर्ने के हो भने अधिकतम राजनीतिक सहमति गरेर जानुपर्ने हो । त्यो अधिकतम राजनीति सहमतिले कम विवादास्पद बनाएर जान्छ । त्यसकारण हामीले कुनै पनि निर्णय गर्दा हिजो संविधान बनाउँदा पनि पहाड, मधेस सबैको भावनालाई गाँसेर अगाडि जाने भन्ने हाम्रा प्रयत्नहरु हुन् । अहिले सुन्दै गर्दा कसैलाई भ्रम नपरोस् भने कांग्रेसले ल्याएको कुरा अहिले एकाएक आएको होइन । विगतमा हामीले पानापानामा हस्ताक्षर गरेर बनाएका दस्तावेजको आधारमा र संविधानमा लेखिएको आधाको आधारमा लिएर आएका छौं । ती कुराहरुलाई खण्डित गरेर अहिले हामीले जाने बेला भएको छैन । त्यसलाई अभ्यासमा लिएर गएपछि एकजना मान्छेले राष्ट्रघाती अभिव्यक्ति राखिन् अरे । तिनलाई सांसद्बाट निकालौन । तर, एउटा मान्छेलाई देखाएर सारालाई आरोपित गर्ने कुरा हुँदैन ।
विदेशी नागरिकसँग विवाह गर्ने पुरुष होस् या महिलालाई तत्कालै नागरिकता दिनुपर्छ भन्ने पक्षमा कांग्रेस हो ?
कुनै पनि नेपाली नागरिकसँग विवाह गरेर आउने महिला, पुरुषहरुको सन्दर्भमा निश्चित प्रक्रियाको व्यवस्था गरिएको छ । ऊ जुन देशको नागरिक हो, त्यो देशको नागरिकता परित्योग गर्ने भन्ने संवैधानिक व्यवस्था छ । त्यो प्रक्रियाभन्दा बाहिर गएर कतिपय त एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता भन्न खोजे । एउटा हातमा सिन्दुर अर्को हातमा नागरिकता भन्ने पक्षमा बोले । कुनै पनि देशको व्यक्ति तपाईंको परिवारभित्र विवाह गरेर आइसकेपछि पारिवारिक रुपमा ऊ सदस्य भयो । तर नागरिकताको लागि ऊ आफू रहेको देश कहाँ हो ? त्यो देशको नागरिकता परित्याग नगरी नागरिकता प्राप्त हुँदैन ।
विदेशी महिलाले नेपालीसँग विवाह गरेर आइसकेपछि तत्काल नागरिकता दिनसकिँदैन ?
विवाह गरेर आएपछि उनी त्यो घरकी बुहारी भइन् । तर, नागरिकता पाउन प्रक्रियाहरु छन् ।
नागरिकता सम्बन्धी नयाँ विधेयक आइसक्यो नि ?
विवाह गरेर आएपछि उनी बुहारी भइन् । तर, विवाह गर्नेबित्तिकै नेपालको कानुनले चिनेको छैन नि । उनको परिवारलका सदस्यले मात्रै चिनेर भएन । परिवारको सदस्यले बुहारीको रुपमा चिन्यो । देशले चिन्नका लागि पहिले जुन देशबाट आएको हो । त्यो देशको नागरिकता परित्याग गर्नका लागि निश्चित प्रक्रिया छ । त्यसलाई पुरा गर्नुप¥यो । त्यसपछि उनले नागरिकता पाउने हो । परिवारको सदस्यकै रुपमा आइसकेपछि नागरिकताको लागि ढोका खुल्छ । त्यसले पार्ने असरका बारेमा नागरिक पंत्तिमा कुनै सांसद, कुनै मान्छेले यस्तो भावना राख्यो भनेर त्यसलाई समग्रमा गाँसेर हेर्नुहुँदैन ।-File Photo



प्रतिक्रिया दिनुहोस्