Logo

उता युद्धको तयारी, यता सी चिनफिङ विचारधारामा प्रबचन



काठमाडौं, ५ असार । यतिबेला भारत-चीन युद्धको कालो बादल मडारिएको छ । दुई देशका सैनिकबीच झडप भइसकेको छ । जसमा भारततर्फ २० जनाको मृत्यु भएको छ । चिनियाँ पक्षले हताहती गोप्य नै राखेको छ ।

अहिले भारत-चीन सिमामा धमाधम सैन्य उपस्थिति बढेको छ । दुवै देशले स्थल, वायु र जल सेनालाई एलर्ट राखेका छन् । नेपालसँगको पूर्व र पश्चिमको त्रिदेशीय सिमा नजिकसम्म दुवै देशको सैनिक थपिएका छन् । उत्तर र दक्षिणबाट सैनिक थपिदा नेपाल पनि घेराबन्दीमा जस्तै परेको छ । किनभने नेपाल तीनतर्फ भारतबाट र एकतर्फ चीनले घेरिएको छ ।

हिन्द महासागरमा भारत र चीन दुवैको विमान बाहक युद्धपोत एलर्ट राखिएका छन् । कुनैपनि बेला सम्भावित युद्धलाई दृष्टिगत गरी युद्धक विमानहरु पनि लदाख, अरुणाञ्चल, सिक्किम, हिमाञ्चल र उत्तराखण्डको सिमामा वारीपारी बढेका छन् । यसरी कुनैपनि बेला खतरनाक युद्ध हुनसक्ने खतरा छ । यद्यपि, दुवै देशले सैन्य तथा कुटनीतिक तवरले युद्ध रोक्न खोजिरहेका छन् ।

अहिले भारत र चीन युद्धको खतरालाई दृष्टिगत गरी सिमामा सैनिक गतिविधि बढाइरहँदा नेपालमा भने चीनको चासो र गतिविधि बढेको बढ्यै छ । आज चिनियाँ कम्युनिस्ष्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीबीच अन्र्तक्रिया भयो । कोरोना भाइरसको जोखिमको समयमा भएर भिडियो कन्फेरेन्समार्फत् चिनियाँ कम्युनिस्ट पार्टीसँगच विचार विमर्श भए ।

चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख सङ ताओ र तिब्बत कमिटिका सचिव यु याङजेले सी चिनफिङ विचारधाराको चर्चा गरेका थिए । नेपालमा पनि यही विचारधारा लागु गर्न सुझाव दिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलले बोलेका थिए ।

छलफलमा अमेरिकी सहयोगसम्बन्धी एमसीसीको पनि विषय उठेको थियो । प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएको आर्थिक सहायता नलिने बताएका थिए । एमसीसीबारे चिनियाँ चासो प्रकट भएको थियो ।

हिमालय क्षेत्रको अन्तरदेशीय सम्पर्क सञ्जाल बनाउनेबारे समेत चिनियाँ पक्षले प्रस्ताव गरेको थियो । प्रचण्ड त्यो सुनेर खुशी मात्र भएनन् हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको माध्यमबाट हिमालपार साझा भविष्यसहितको समुदाय विकास गर्न सकिने उल्लेख गरे ।

दुई देशका कम्युनिस्ट नेताहरुले भविष्यको सम्भावनाबारे विचारविमर्श गरेका थिए । यो छलफल यतिबेला भयो जतिबेला भारत चीनबाट सिमामा चुनौतीको सामना गर्ने अवस्थामा छ । साथै नेपालसँग सिमा विवादका कारण अर्को समस्या देखिएको छ । सत्तारुढ नेकपा भारतबाट टाढिदै जाँदा चीनतर्फ नजिकिदै गएको छ । जसलाई भारतले रुचाइरहेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot