काठमाडौं, असार ६। मानो रोपेर मुरी फलाउने सुरसारमा रहेका देशभरका किसानलाई फेरि मलको चिन्ताले सताएको छ । मनसुनको आगमनसँगै उत्साहित बनेका कृषक मलको अभावमा छटपटिन बाध्य भएका छन् । देशभरका कृषकको एउटै प्रश्न छ–सरकार मल नपाए कसरी खेती गर्नु ?
बर्सेनि धानबाली लगाउने क्रममा रासायनिक मलको चरम अभाव खेप्तै आएका किसान यस वर्ष पनि सोही समस्या खेप्न बाध्य भएका हुन् । हाल देशभरमा रासायनिक मलको हाहाकार भएको छ । मानो रोपेर मुरी फलाउन किसानलाई रासायनिक मलको आवश्यता पर्छ तर सोचेअनुसार मल नपाउँदा उनीहरूको मुरी फलाउने सपनामा तुषारापात हुने भएपछि कृषकहरू चिन्तित देखिएका छन् ।
मनसुनको सुरुवातीसँगै किसानहरू मलबिना नै धान रोपाइँ गर्न बाध्य भएका छन् । तराईदेखि पहाडका किसानले मल नपाएको गुनासो गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि मात्र युरिया र डीएपी करिब ७० हजार मेट्रिक टन आवश्यक पर्छ । हाल कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीसँग युरिया र डस्एपी मल गरी १८ हजार मेट्रिक टन मात्र मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया ३ हजार मेट्रिक टन र डीएपी ५ हजार मेट्रिक टन रहेको छ भने साल्ट ट्रेडिङसँग ३ हजार मेट्रिक टन युरिया र ७ हजार मेट्रिक टन डीएपी छ ।
मन्त्रालयका एक अधिकारीले यस वर्ष गत वर्षमा भन्दा मलको माग अत्यधिक बढी देखिएकाले समस्या भएको बताए । उनले गत वर्ष माग भएअनुसारको मल यस वर्ष हालसम्म बिक्री भइसकेको जानकारी दिए । उनले युरिया र डीएपी गरी करिब ३ लाख ५० हजार मेट्रिक टन भन्दा बढी बिक्री भइसकेको बताए ।
कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले हाल समस्या भए पनि अबको दुई तीन दिनमै मलको समस्या समाधान हुने दाबी गरेको आजको राजधानी दैनिकमा खवर छ ।