Logo

‘एक वडा, एक महिला कृषि सहकारी’



काठमाडौँ, ६ असार । हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थापनाको काम शुरु गरिएको हो ।

फलफूल तथा तरकारी खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसायलगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यमसम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन हरेक वडामा एउटा महिला कृषि सहकारी स्थापनाको काम शुरु गरिएको नगर उपप्रमुख विमला राईले बताएका छन् । “महिलालाई सङ्गठिन गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमूलक ठाउँमा खर्च गर्ने बानीको विकास गराउने हाम्रो लक्ष्य हो”, उनले भने, “नगरपालिकाको नीति तथा कार्यक्रमअनुसार चालु आर्थिक वर्षबाटै सबै वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइने छ ।”

यसअघिदेखि नै कृषि सहकारी संस्था स्थापना गरेका वडा नम्बर–७ महादेवस्थानस्थित हलेसी कृषि महिला सहकारी संस्थामा आबद्ध महिलालाई नगरपालिकाले सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धिसम्बन्धी अभिमुखीकरण चार दिने तालीमसमेत दिएको छ । कृषि सहकारी दर्ता गरिसकेपछि सहकारी सञ्चालन तथा व्यवस्थापन, संस्थागत तथा व्यक्तिगत क्षमता विकास, आयआर्जन, बचत तथा लेखा व्यवस्थापनसम्बन्धी महिलाको क्षमता अभिवृद्धि गराउन अभिमुखीकरण तालीमको आयोजना गरिएको हो । चार महिनाअघि नगरपालिकामै दर्ता गरेर सञ्चालनमा ल्याइएको महिला कृषि सहकारी संस्थाले रु नौ लाख बचत गरेको सो सहकारी संस्थाले रु छ लाख लगानी गरिसकेको जनाइएको छ ।

महादेवीस्थानमा सञ्चालित महिला कृषि सहकारीमा हलेसी बजार आसपासका १६५ महिला आबद्ध रहेका छन् । त्रिधार्मिकस्थल हलेसी बजार आसपासका महिलाको पहलमा स्थापना गरिएको हलेसी कृषि महिला सहकारी संस्थाले भवन निर्माणका लागि जग्गासमेत जुटाइसकेको जनाइएको छ । सो कृषि सहकारी संस्थाको भवन निर्माणको काम नगरपालिकाकै आर्थिक तथा प्राविधिक सहयोगमा चालु आर्थिक वर्षबाटै शुरु हुने उपप्रमुख राईले बताएका छन् । एघार वडा रहेको सो नगरपालिकाको वडा नम्बर–३ च्यास्मिटार र वडा नम्बर–६ मङ्गलटारमा पनि महिला कृषि सहकारी दर्ता भइसकेको छ । क्रमशः वडा नम्बर–२ डिकुवा, वडा नम्बर–४ बडहरे, वडा नम्बर–९ सल्लेलगायतमा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइसकिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्