Logo

होम क्वारेन्टिन बसेकी बालिकाको मृत्यु



झिमरुक, ६ असार : प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडिटी गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएको जनाइएको छ । मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताउनुभयो । बालिकाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।

मृत्यु भएकाको रिपोर्ट पोजेटिभ

गुल्मी– जिल्लामा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएको थियो ।गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो ।लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । रासस/File photo



प्रतिक्रिया दिनुहोस्