Logo

बेसार फलाउने योजना छैन, खाने मात्रै कुरा



काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजकल आफ्नो सम्बोधनैपिच्छे रोग प्रतिरोधी क्षमता बढाउन बेसार खानुपर्ने सुनाउँछन्। त्यसो त उनले सुरु सुरुमा नेपालीको भान्सामा बेसार पाक्ने हुनाले कोरोनाको संक्रमण फैलन नसक्ने तर्क पनि गरे। उनको सुझाव र तर्कमा तथ्य के छ भन्ने कुरामा कमै चर्चा भए पनि सामाजिक सञ्जालमा बेसार जोडिएका स्टाटस भने आइरहन्छन्। प्रधानमन्त्रीले आफ्नो रटान दोहो¥याउन छाडेका पनि छैनन्।

एकताका उनीसहित उनका अर्का अध्यक्ष प्रचण्डले व्यवसायी दुर्गा प्रसाईको घरमा पुगेर मार्सी चामलको भात खाएको तस्बिर भाइरल भएपछि एकाएक मार्सी चामलको माग बढेको थियो। त्यो समय बाजुराका जयबहादुर सिंहले गाउँ पुगेर मार्सी धानको चामल लिएर काठमाडौंमा बिक्री गरको अनुभव सुनाए। ‘गाउँमा तराईबाट गएको चामलको भात खान मरिमेट्थ्यौं। तर यता गाउँको चामलको चर्चा हुन थाल्यो,’ सिंहले नागरिकसँग भने, ‘चामलको माग धान्न समेत गाह्रो भयो। त्यो समय एक किलोकै अढाइ सय रुपैयाँसम्ममा बिक्री गरियो।’ तर अहिले मार्सी धानको चामलको माग त्यत्ति नभएको उनको बुझाइ छ।

नेता जोडिँदा महत्व बढेको मार्सी धानको चामल जस्तै बेसारको माग पनि बढ्नुपर्नेमा त्यसो नभएको व्यापारी बताउँछन्। किराना व्यवसायी महासंघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्य प्रधानमन्त्रीले नभनेकै अवस्थामा पनि भान्सामा बेसार प्रयोग हुँदै आएकोले एक्कासि माग नबढ्ने बताउँछन्। ‘बेसार स्वास्थ्यका लागि आवश्यक कुरा त हो। तर उहाँले जसरी हचुवाका भरमा बोल्दै आउनुभएको छ, त्यसलाई सबैले ठट्टाका रुपमा लिएका छन्,’ बज्राचार्य भन्छन्, ‘तर दालचिनी, ल्वाङ जस्ता अरु मसलाजन्य पदार्थको माग केही बढेको महसुस गरेका छौं।’

स्वास्थ्य अनुसन्धान परिषद्का बोर्ड सदस्य समेत रहेका आयुर्वेद चिकित्सक डा। हेमराज कोइराला प्रधानमन्त्रीको प्रस्तुति र व्याख्या जस्तो भए पनि बेसारमा औषधीय गुण पर्याप्त रहेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्