Logo

बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीन जनाको मृत्यु



७ असार : बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतंकवादी हो वा होइन भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

थेम्स भ्याली प्रहरीले एक जना २५ वर्षका व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अरु थप आक्रमणको सम्भावना नरहेको र स्थानीयबासीलाई नआत्तिन आग्रह गरेको छ ।गुप्तचर विभाग प्रमुख इयान हन्टरले उक्त आक्रमणको भित्री कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै प्रतिआतंकवादी इकाईका गुप्तचरहरुले अनुसन्धान कार्यमा सहयोग गरिरहेको बताउनुभयो ।

बेलायती संचार माध्यमहरुले उक्त घटना आतंकवादी प्रकृतिको देखिएको र पक्राउ परेका व्यक्ति लिबियाली नागरिक रहेको जनाएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लिबियाली नै रहेको पुष्टि गरेको छ ।प्रधानमन्त्री बोरिस जोन्सनले रिडिङमा भएको घटनाबाट पीडितका परिवारप्रति आफूले गहिरो दुःख प्रकट गरेको बताउनुभएको छ ।

बेलायतको राजधानी लन्डनबाट करिब ६४ किलोमिटर पश्चिमस्थित रिडिङको फोरबरी गार्डेन पार्कमा साँझपखको घाम तापिरहेका व्यक्तिमाथि साँझ करिब ७ बजे आक्रमण भएको थियो ।प्रत्यक्षदर्शीहरुले प्रहरीको कार र हेलिकप्टर तत्कालै घटनास्थलमा पुगेको बताएका छन् । केही मिनेटभित्रै प्रहरीले वरपरका सडकहरु अबरुद्ध गर्नुका साथै घाइतेहरुको उद्धारका लागि दुईवटा एयर एम्बुलेन्स ल्याइएको थियो ।

पार्कमा रहेका प्रत्यक्षदर्शी लरेन्स वोर्टले एक जना एक्लो व्यक्ति ठूलो समूहमा रमाइरहेका व्यक्तिहरुको नजिक पुगेर अन्धाधुन्ध छुरा प्रहार गरेको जानकारी दिनुभयो ।पार्कका अरु मानिसलाई पनि छुरा हिर्काउँदै ती व्यक्ति पार्कबाहिर भागेका थिए । उक्त घटना हुनुअघि फोरबरी गार्डेनमा अश्वेत नागरिकमाथिको विभेद विरुद्ध एउटा प्रदर्शन गरिएको थियो । प्रहरीले उक्त आक्रमण र प्रदर्शनबीच कुनै सम्बन्ध नरहेको जनाएको छ ।एपी



प्रतिक्रिया दिनुहोस्