Logo

एमसीसी राष्ट्रघाती प्रमाणित भयो भने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई जेल हाले भैहाल्यो नि : रोमी गौचन (भिडिओसहित)



काठमाडौं, ७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले सरकारले एमसीसी संसदमा दर्ता गराएकोले सो सम्बन्धमा सार्वभौम संसदमा छलफल गराउनुपर्ने बताएका छन् । आज साँझ प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थकालीले यस्तो बताएका हुन् ।

उनले भने-‘यो त संसदको प्रोपर्टी भैसक्यो । जनताले आफ्नो मत हालेर पठाएका सांसदहरु हुनुहुन्छ । मुस्ताङमा मैले हारें, तर मेरो पनि माननीय संसदमा हुनुहुन्छ नि । एमसीसी के हो ? भन्ने कुरा सार्वभौम थलो संसदमा छलफल हुनुपर्छ । संसदमा छलफल गर्दा यदि एमसीसी सम्झौता राष्ट्रघाती हो भने संसदमा खुल्ला छलफल गर्न दिउँ । माननीय सांसदहरुज्यू सक्षम हुनुहुन्छ । राष्ट्रघातीको चाहीँ प्रमाणित भयो भने मेरै पार्टी प्रधानमन्त्री हुनुहुँदो रहेछ त्यतिखेर, ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्रीको हैसियतले दस्तखत गर्नुभएको रहेछ । उहाँ दुई जनालगायत अहिले सरकारी विद्येयक प्रस्तुत गर्ने प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जेलमा हाले भैहाल्यो नि ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विषयमा सार्वभौम संसदलाई बन्धक बनाएर राखेको उनको भनाई छ । उनले संसदमा यो विषयमा छलफल हुनुपर्ने आफ्नो धारणा दोहोर्याए । फरक प्रसँगमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट आफू सन्तुष्ट नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर प्रजातान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरेको उनको आरोप छ । अहिले यही ढंगले दलहरु अघि बढे जनताले अहिलेको व्यवस्थाको विकल्प खोज्दैनन् भन्ने कुनै ग्यारेन्टी नभएको पनि उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्