Logo

तातोपानीबाट सवा आठ अर्बको आयात



सिन्धुपाल्चोक, असार ८ । पूर्ववत अवस्थामा फर्किन प्रयासरत उत्तरको प्रमुख तातोपानी नाका भएर चालु वर्षको बितेका ११ महिनामा चीनबाट झण्डै सवा आठ अर्व रुपैयाँ मूल्यका सामग्री नेपाल आयात भएका छन्।

२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत वर्ष जेठको १५ गतेबाट सञ्चालनमा आएको थियो। फाट्टफुट्ट बाहेक साउनदेखि मात्र नाकाबाट नियमित आयात हुन थालेको हो। कोरोना भाइरस फैलिएपछि चीनले अन्तर्राष्ट्रिय नाका बन्द गर्दा चैत दोस्रो सातासम्म तातोपानीबाट दुई महिना आयात ठप्प भएको थियो।

नाका चलेको नौ महिनामा आठ अर्ब २० करोड रुपैयाँ मूल्यका चिनियाँ सामग्री आयात भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। नेपालमा कोरोना संक्रमण फैलिएपछि स्वास्थ्य सामग्री आयात हुन नदिन नेपाल सरकारले माघ १६ गतेदेखि बन्द नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। निर्णयसँगै चैत १६ बाट नाका खुलेको थियो। स्वास्थ्य सामग्रीसँगै अन्य सामान पनि आयात भइरहेको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए।

‘तातोपानी अन्तर्राष्ट्रिय नाका भएकाले सबै किसिमका सामग्री आयात भइरहेको छ। तर कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री प्राथमिकताका साथ भित्रिरहेका छन्,’ उनले नागरिकसँग भने। कोरोनाअघि भित्रँदै आएका लत्ताकपडा, तयारी पोसाक, विद्युतीय सामग्री मात्रै आयत हुन सकेको छैन। त्यसबाहेक स्याउ, लसुन, कृषि उपकरण र बीऊविजन भने आयात भइरहेको खत्रीले जानकारी दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्