काठमाडौं, असार ८ । कोभिड–१९को स्वाब परीक्षणमा वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले असहयोग गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले क्षमताअनुसार परीक्षण गरिरहे पनि वीर, पाटन तथा शिक्षण अस्पतालमा रहेका ल्याबमा क्षमताअनुसारको काम नहुँदा परीक्षणको दायरा फराकिलो बन्न सकेको छैन।
संकलन भएका धेरै नमुना त्यसै थन्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका उच्च अधिकारीहरू बताउँछन्। स्वास्थ्य मन्त्रालयका अनुसार पूर्ण क्षमतामा परीक्षण गर्ने हो भने वीर अस्पतालले दैनिक डेढ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबको दैनिक दुई सय नमुना परीक्षण गर्न सक्छ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सञ्चालन गरेको ल्याबमा पनि दुई सय ५० भन्दा बढी नमुना परीक्षण गर्न सकिने देखिन्छ। तर पाटनले जेठ २५ गते एकै दिन दुई सय ३५ र वीरले जेठ २० गते एकै दिन एक सय ५२ नमुना परीक्षण गरेका थिए। तर पनि पाटन र वीरले पूर्ण क्षमतामा स्वाब परीक्षण गरिरहेका छैनन् भन्ने पुष्टि हुन्छ। जेठ १८ देखि सञ्चालनमा आएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ल्याबमा जेठ २१ गते २ सय ४२ र असार ३ गते २ सय ५५ नमुना परीक्षण भएको थियो।
त्यसपछिको परीक्षणको दर हेर्ने हो भने शिक्षण अस्पताल पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले एकदेखि डेढ सयसम्म मात्र स्वाब परीक्षण गरेको देखिन्छ। दैनिक दुई सय ५० स्वाब परीक्षण गर्न सकिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ल्याबबाट दैनिक १ देखि डेढ सयसम्म मात्र स्वाब परीक्षण भएको देखिन्छ।नागरिक दैनिकबाट