काठमाडौं, असार ८ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाद्वारा आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी सो आग्रह गरिएको हो । ती संस्थाले बन्दाबन्दीमा अनलाइनबाट कक्षा सञ्चालन हुन थालेकाले निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सिकाइलाई निरन्तरता दिइएको तर शुल्क नलिँदा आफूहरुलाई कठिनाइ परेको जनाएका छन् ।
सरकारले अनलाइन कक्षा सञ्चालनबापतको शुल्क लिनेबारे हालसम्म कुनै निर्णय गरेको छैन भने गत चैतमा एक महिनाको शिक्षण शुल्क मिनाहा गर्न निर्देशन गरेको थियो ।