Logo

भारत-चीन भिडन्तपछि सामरिक असर



विपिन देवः कोरोनाको कहरबाट सारा मानव जाति छटपटाइरहेको अवस्थामा वर्षौंदेखि चाङ्गिएका मुद्दालाई बलझाएर चीन र भारतको भिडन्तले सारा संसार चिन्तित देखिएको छ । कोरोनाको कहरले गर्दा विश्व जनमत चिनियाँ शैली प्रति रुष्ट देखिएको अवस्था छ । यसका विभिन्न प्रतिनिधि उदाहरणहरु छन् अस्ट्रेलियाले चिनियाँ गोपनियता प्रति प्रश्न उठाउँदा चीन आफ्नो आक्रामक शैली अपनाएर अस्ट्रेलियाको आर्थिक कारोबारमा नै धक्का पुग्ने गरी नीति अवलम्बन गरे । अर्थात् अस्ट्रेलियाबाट निर्यात हुने सामानहरुमा कर अभिवृद्धि गरेर अस्ट्रेलियाको अर्थतन्त्रलाई नै धरासाही बनाउने नियतले चीन कठोर निर्णय गरे ।

विपिन देव

प्रतिशोधमा अस्ट्रेलियाले पनि चिनियाँ निवेशलाई निस्तेज गर्न आवश्यक कदम चाले । कोरोनाको कहरले गर्दा चिनियाँ रवैया चारैतिर आलोचित भएका छन् । खास अर्थमा भन्ने हो भने चीनले हंगकंग र ताइवानमा लिएको नीतिले गर्दा चीनको मानव अधिकार र प्रजातन्त्र प्रतिको संवेदनशीलता पूर्ण रुपमा बिम्वित हुन्छ । चीनको रणनीति माथि प्रकाश पार्दै चर्चित लेखक राजामोहनले भारतको बहुप्रतिष्ठित पत्रिका “इण्डियन एक्सप्रेस” मा एउटा आलेख प्रकाशित गरेका छन् । राजामोहनले चीनको नीति प्रति कटाक्ष गर्दै के भनेका छन् कि चीनका कम्युनिष्ट पार्टी चिनियाँ जनताको असन्तुष्टि र क्रोधलाई दिशा परिवर्तन गर्न आफ्नो विदेश नीतिमा परिमार्जन गरेका छन् ।

राजामोहनले प्रष्ट भनेका छन् कि चिनियाँ जनताको आक्रोशलाई मत्थर गर्न चिनियाँ सरकारले उग्र राष्ट्रवादको नारा दिँदै चीनलाई बढी आक्रामक बनाईरहेको छ । साउथ चाइना सी मा चीनले आफ्नो दबदबा र दम्भलाई दिनप्रतिदिन बढाइरहेको अवस्था छ । साउथ चाइना सी मा चीन आफ्नो हैकमवादी सोचलाई अगाडी बढाउँदै आफ्ना छिमेकीहरुमा आफ्नो वर्चश्व बढाईरहेको अवस्था छ । उदाहरणको लागि इण्डोनेसियाको टुना टापुलाई नै लिन सकिन्छ । टुना आयल्याण्ड साउथ चाइना सी सँग जोडिएको कारण देखाउँदै त्यसलाई पूर्ण रुपमा चीनले उपभोग गर्न पाउनु पर्छ भने चिनियाँ दबाब रहेको देखिन्छ । तर टुना आयरल्याण्ड चीनबाट १५०० किलोमिटर टाढा हुँदा हुँदै पनि चीनले आफ्नो उपस्थिति इण्डोनेसियामा खोजी रहेको अवस्था छ । अर्को तर्फ इण्डोनेसियाले चीनलाई अन्तर्राष्ट्रिय कानुनको मर्म अनुसार चिनियाँ दब–दबा र मनोमानीलाई कानुनी दायरामा ल्याउन भगिरथ प्रयास गरेता पनि चीन आफ्नो रणनीतिमा परिवर्तन गरेको छैन ।

अन्तर्राष्ट्रिय कानुनअनुसार चीनलाई संयुक्त राष्ट्र संघले निर्देशन दिएता पनि चीन आफ्नो अडान र उद्देश्यमा परिवर्तन ल्याएको छैन । फिलिपिन्स पनि यही रोगको शिकार भएको देखिन्छ । फिलिपिन्स अमेरिकाको सबभन्दा पहिलो एसियाको बेसक्याम्प हो । फिलिपिन्सले चीनको बढ्दो सामरिक महत्वलाई मध्यनजर गर्दै आफु अमेरिकी क्याम्पबाट टाढिदै छ । फिलिपिन्सले जे जस्तो गरेता पनि चीनले फिलिपिन्स सँगको नीतिमा परिमार्जन गरेको छैन । फिलिपिन्स जस्तै मलेसिया पनि चीनको महत्वाकांक्षाबाट भयभित देखिएको अवस्था छ । आखिर चीनले आफ्नो छिमेकी प्रति यस्तो नीति लिनुको पछाडी एसियामा अमेरिकी प्रभाव र वर्चश्व नरहोस् भन्ने उद्देश्यबाट उत्प्रेरित देखिएको छ ।

अर्को तर्फ चीन आफ्नो दम्भ र सामथ्र्य देखाउन बोर्डरमा छिमेकीहरुलाई दबाब दिन उद्वेलित देखिएको छ । चीन र भारतको भिडन्तलाई यहि परिवेश अनुसार चीरफार गर्न सकिन्छ । चीन र भारतको बोर्डर विवाद, संसारको सबभन्दा ठुलो बोर्डर विवाद हुन् । बोर्डरको समस्याले गर्दा नै चीन र भारत बीच सन् १९६२ मा युद्ध पनि भएको थियो भने सन् १९६५ ताका चीन र भारतको सैनिक भिडन्त पनि भएको थियो । भारतले मैकमोहनबाट तयार परेको नक्साका आधारमा बोर्डर समस्यालाई निराकरण गर्न खोजेको देखिन्छ जबकी मैकमोहनको नक्सालाई ब्रिटिश राज्यको उपनिवेशवादको रुपमा चीनले व्याख्या गरेको देखिन्छ । अर्को तर्फ चीनले आफ्नो बोर्डर समस्या वर्मा सँग यहि नक्साको आधारमा समाधान गरेका छन् ।

भारत र चीन बीच मतभेद र मनभेद बोर्डर समस्याले नै गर्दा बेला बखतमा हुने गरेको छ । वर्तमान परिवेशमा एकातर्फ चीन अन्तर्राष्ट्रिय रङ्गमञ्चमा आलोचित भएका छन् । अर्को तर्फ भारत इण्डोप्यासिफिकमा नेतृत्व पाएका छन् । भारत सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा इण्डोप्यासिफिक ग्रुपबाट एकल उम्मेदवार थिए । संसारको १९२ वटा मुलुकहरु मध्ये १८४ मुलुकहरु भारतलाई सुरक्षा परिषद्को सदस्य हुन मतदान गरेका थिए । त्यस्तै भारतले विश्व स्वास्थ्य संगठनको अध्यक्षता पाएको देखिन्छ । भर्खरै चीन र भारतको लद्दाख क्षेत्रमा भएको भिडन्तले गर्दा धेरै सैनिकहरुको ज्यान समेत गुमेको छ । भारतको मिडियालाई आधार मान्ने हो भने भारतको २० सैनिकको ज्यान गुमेको छ भने चिनियाँ सैनिक पनि हाताहात मात्रै नभई केहि संख्याको ज्यान गएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सार्वजनिक गरेको छ ।

चीनको रवैयालाई भारतले मित्र प्रतिको धोकाको संज्ञा दिएको छ । मोदी र सी जिन पिङ् को विगत ६ वर्ष मा १८ पटक भेट भएता पनि भारतले चीनलाई व्यापक दबाब दिन विभिन्न सामरिक नीतिलाई अवलम्बन गरेको छ । भारत चीनको ठुलो बजार हो जसमा भारतले व्यापार घाटा मात्र ६० बिलियन अमेरिकी डलर बहन गरेको छ । भारतले आगामी दिनमा चिनियाँ सामानहरु प्रति कठोर नीति लिएको देखिन्छ । अर्थात् आगामी दिनहरुमा भारतले अमेरिकी सामानहरुलाई बहिष्कार गर्न व्यापक जनमत तयार गरिरहेको छ । भारतबाट चिनियाँ सामानको आयातमा कटौती हुन बित्तिकै चीनको महत्वाकांक्षा प्रभावित हुने पूर्ण सम्भावनालाई नकार्न सकिदैन । आगामी केहि वर्षमा भारत विश्वको सर्वाधिक जनसंख्या भएको मुलुक हुनेछ जहाँ चिनियाँ उपभोगजन्य वस्तुको बिक्रीको प्रचुर सम्भावना रहेको छ ।

अर्को तर्फ इण्डोनेसियाको सद्भावले हिन्द महासागरको मालाका स्टेटमा चीनलाई दबाब दिन सक्छ जहाँ कि चीनको ८५ % व्यापारिक कारोबार त्यही सामुद्रिक मार्गबाट हुन्छ । लद्दाखमा भएको भिडन्त र त्यसबाट उत्पन्न भएको तनावले विश्व राजनीतिको तापक्रम बढेको देखिन्छ । भारत इण्डोप्यासिफिक क्षेत्र, क्वार्ड (अस्ट्रेलिया, अमेरिका, जापान र भारत) लगायत आसियान मुलुकहरुको माध्यमबाट चीनलाई कुटनीतिक दबाब निर्माण गर्न सक्छ । चीन भियतनाम युद्धपछी कुनै पनि युद्ध लडेको छैन । जलसेनाको सामग्रीमा चीनको भण्डारण अमेरिका भन्दा पनि अधिक छ । पाकिस्तान, उत्तर कोरिया लगायत विभिन्न देशहरु चीनको निकटतामा रहेको छ । विश्लेषकहरु चीन र भारतको भिडन्तलाई प्रजातान्त्रिक र साम्यवादी मुलुकको भिडन्तको रुपमा पनि व्याख्या गरेको छ ।

भर्खरै भारत र चीनका विदेशमन्त्रीहरु टेलिफोन वार्ताले शान्तिको संकेत गरेता पनि भारत र चीनले बोर्डरको समस्यालाई अविलम्ब समाधान गरेर अगाडी बढ्नु पर्दछ । दुई देशहरुको भिडन्त भएमा सारा संसार र मानवजाति प्रभावित हुने सम्भावनालाई पनि नकार्न सकिदैन ।
संसारको सबभन्दा ठुलो र व्यापक सेन्सरशिप प्रणाली चीनको रहेको पाइन्छ । ली का अनुसार चीनमा प्रत्येक दिन ८०० मिलियन सामाजिक संजालका प्रयोगकर्ता र इन्टरनेट प्रयोगकर्ताहरुको विवरण र क्रियाकलापमा सेन्सरशिपले सी जिन पिङ् को नीतिलाई कार्यरूप दिन्छ । अर्थात् सी को नीति नै कम्युनिष्ट पार्टीलाई आलोचनात्मक चेतबाट टाढा राख्नु हो । चीनले इन्टरनेटद्वारा सामाजिक संजाल लगायत विविध क्रियाकलापमा जनतालाई लगाम कस्दै आइरहेको छ । “बियोन्ड सफ्ट” जस्ता सेन्सरशिप कारखानामा ४००० प्राविधिकहरु कार्यरत छन् । “सेन्सरशिपको अभिप्राय नै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नु हो । चीनलाई पश्चिमा समाजको प्रभावबाट टाढा राख्नु, सुचनाबाट वन्चित गराउनु र कम्युनिष्ट रेड बुकको मान्यताबाट परिचालित गर्नु नै सेन्सरशिपको मुख्य ध्येय रहेको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्