Logo

भैरहवामा फल्न थाल्यो अष्ट्रेलियन स्याउ



भैरहवा, असार ९ गते । सामान्यतः स्याउलाई आवश्यक पर्ने हावापानी हिमालमा पाइन्छ । तर हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा समेत फलेको छ । भैरहवा पश्चिम भुजौली गाउँमा रहेको लुम्बिनी अर्गानिक एण्ड रिसर्च सेन्टरमा गत वर्ष लगाइएको अष्ट्रेलियन नानो जातको स्याउ फल्न थालेको छ ।

सात बिगाहा जग्गामा तीन वटा ब्लकमा आधुनिक प्रविधि प्रयोग गरेर मल्टी फार्मिङ गर्नुभएका फार्म सञ्चालक आशा गुरुङले तीन बिगाहाको एउटा ब्लकमा स्याउसहित २८ थरी फलफूल खेती गर्नुभएको छ । जसमध्ये अष्ट्रेलियन जातको नानो स्याउका छ सय बिरुवा भएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

यो ४८ डिग्री तापक्रम हुने ठाउँमा पनि फल लाग्ने प्रजातिको स्याउ भएकाले तराई क्षेत्रमा जोखिम मोलेर व्यावसायिक खेती गरेको गुरुङले बताउनुभयो । बिरुवा रोपेको दोस्रो वर्षमै स्याउ फल्न लागेपछि यही वर्ष पुससम्म पाँच हजार बिरुवा रोप्ने उहाँको तयारी छ ।

अरु स्याउको सिजन सकिएपछि फल्ने प्रजातिको भएकाले बजारको समस्या नहुने गुरुङको भनाइ छ । “अरु जातको स्याउ असोज महिनाबाट फल्न सुरु हुन्छ, तर यो स्याउ भने पुसको तेस्रो साताबाट फल्न सुरु भई वैशाखसम्म उत्पादन हुन्छ,” गुरुङले भन्नुभयो, “फल लाग्न थालेको अर्को वर्ष प्रतिबिरुवा २५ केजी र त्यसपछिका वर्षहरूमा सय केजी तौल बराबरको उत्पादन दिन्छ ।”

जर्मनीमा रोजगारमा रहँदा गर्मी मौसमको ठाउँमा पनि स्याउ र स्ट्रबेरी खेती गर्न सकिने देख्नुभएका उहाँले दुई दशकपछि आफ्नै थलोमा देखेको कुरा व्यवहारमा उतारेको स्मरण गर्नुभयो । प्रतिगोटा १७ सय रुपियाँमा आफूले स्याउको बिरुवा आयात गरेको र खाल्डो खन्न, मल र मजदुरसमेत खर्च गर्दा प्रतिबिरुवा करिब दुई हजार रुपियाँका दरले लगानी भएको गुरुङले जानकारी दिनुभयो । तर धेरै परिमाणमा खेती गर्दा लागत सस्तो पर्न जाने उहाँको भनाइ छ । भविष्यमा बिरुवासमेत तयार गरी बिक्री गर्ने गुरुङको योजना छ । अष्ट्रेलियन नानो स्याउको बोट बढीमा सात फिट उचाइको हुने उहाँले बताउनुभयो । गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्