Logo

देशभर ४५ सय विद्यालयमा क्वारेन्टाइन सञ्चालन



काठमाडौं, ९ असार । दुई सातामा देशभर १ हजार ५ सय विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएका छन् । जेठ २१ गते ३ हजार १ सय ९४ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो । दुई सातामा त्यो संख्या बढेर ४ हजार ५ पुगेको छ ।

सात प्रदेशको सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार दुई सातामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय १३ पुगेको छ ।

जेठ २१ गते ९ सय ८१ थियो । असार ५ गतेसम्मको तथ्यांकअनुसार ८ सय ३२ विद्यालय थपिएका छन् । कोरोना संक्रमितको संख्या झन्डै १० हजारको हाराहारीको पुगिसकेको अवस्थामा विद्यालयमा क्वारेन्टाइनको संख्या पनि बढेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठका अनुसार मावि तहको विद्यालयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । ठूला भवन र भौतिक संरचना भएका विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको देखिएको छ ।

सरकारले विद्यालय सञ्चालन गर्ने तयारी गरिरहँदा विद्यालयमा क्वारेन्टाइनको संख्या बढ्न थालेपछि तत्काल कक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन ।

शिक्षण संस्था खोल्न नसकेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको एसईई परीक्षा स्थगित गरी अन्तिम मूल्यांकनको अधिकार विद्यालयलाई दिएको छ । कक्षा ११ र १२ को विषयमा हालसम्म निर्णय गर्न सकेको छैन । नेपाल समाचार पत्रबाट



प्रतिक्रिया दिनुहोस्