डोटी, असार ९ । डोटीको बडीकेदार गाउँपालिकाले कोरोना संक्रमितलाई एक हजार पाँच सय र मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार दिने निणर्य गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर चन्दका अनुसार रोग प्रतिरोधात्मक शक्ति बढाउन उक्त रकम खानपानमा खर्च गर्न गाँउपालिकाले निणर्य गरेको हो ।
भिटीएम अभावका कारण हामीले सबैको स्वाब संकलन गर्न नसकेको जनाउँदै उनले भारत तथा अन्य मुलुकबाट आएका ब्यक्तिहरुलाई गाउँपालिकाले वडाका विभिन्न बिद्यालयहरुमा ब्यवस्थापन गर्दे आइरहेको र सबैको आरटिडि परिक्षण भईसकेको बताएका छन्। बाहीरी मुलुकबाट गाउँपालिकामा आएका नागरिकहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाईनमा राख्ने गरेको उनले बताए ।
प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो ।
एक वर्षअघि इलाका प्रहरी कार्यालय बिपीनगरमा कार्यरत रहेको बेलामा प्रहरी निरीक्षक बोहरा र सामुदायिक वनका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अवैध काठसहित भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम कार्यालयले दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो । अध्यक्ष साउद र प्रहरी निरीक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
..