Logo

गण्डकीमा थपिए १०४ सङ्क्रमित, कुल ६९७ पुग्यो



पोखरा, १० असार । गण्डकी प्रदेशमा मङ्गलबार एकै दिन १०४ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार बेलुकासम्म गरिएको परीक्षणमा १०४ जना नयाँ सङ्क्रमित थप भई कुल सङ्क्रमितको सङ्ख्या ६९७ पुगेको हो ।

निर्देशनालयले मङ्गलबार साँझ जारी गरेको विज्ञप्तिका अनुसार सङ्क्रमण देखिएका अधिकांशको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको थियो । गण्डकी प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या बढ्दैजाँदा स्वाबसमेत थुप्रिन थालेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा स्वाब परीक्षणका लागि पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा मङ्गलबार पर्वतका २१ जना, नवलपरासी पूर्वका २१ जना, स्याङ्जाका १३ जना, गोरखाका १३ जना, कास्कीका सात जना, बागलुङका छ जना, तनहुँका एक जनामा सङ्क्रमण पुष्टि भएको हो । गोरखामा सङ्क्रमित पुष्टि भएका १८ जनामध्ये १३ जनाको राष्ट्रिय प्रयोगशाला र पाँच जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । यस्तै, पूर्वी नवलपरासीबाट स्वाब सङ्कलन गरी भरतपुर अस्पतालमा पठाइएका स्वाबमध्ये १७ जनामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

नयाँ सङ्क्रमितसँगै हालसम्म पूर्वी नवलपरासीका १७९ जना, बागलुङका १३१ जना, स्याङ्जाका १२०, तनहुँका ९०, गोरखाका ६९, पर्वतका ६७, कास्कीका २५, म्याग्दीका आठ, लमजुङका छ, मनाङ र मुस्ताङका एकरएक जना रहेका छन् । यीमध्ये पूर्वी नवलपरासीमा पाँच, बागलुङमा २३, स्याङ्जामा २१, तनहुँमा नौ, गोरखामा आठ, पर्वतमा आठ, कास्कीमा छ, म्याग्दीमा दुई, लमजुङमा एक जनामा कोरोना मुक्त भएका समाचार गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्