Logo

फौजी किराले मकैबाली नष्ट गर्दै



काठमाडौ, १० असार । हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् । फौजी किराले हुर्कदै गरेको मकै बालीमा धेरै क्षति गरेको केसीले बताए । ‘मकैको कलिलो पातलाई फौजी किराले खाइदिएको छ,’ उनले भने ‘अनेक प्रयास गर्दा पनि पुर्ण रुपले किरा नियन्त्रणमा आउन सकेको छैन ।’

फौजी किराले सताएपछि वडा कार्यालयबाट विषादी ल्याएर छर्किएपनि अझै नियन्त्रणमा नआएको केसीले सुनाए । सोही गाउँका अर्का किसान कृष्ण केसी पनि फौजी किराको आतंकबाट निराश बनेका छन् । किराले दिन रात मकैको बोटमा क्षति गरिरहँदा पनि नियन्त्रण गर्ने उपाय आफुसँग नभएको कृष्णले सुनाए । ‘किराले मकैको बोटमा नोक्सान गरिरहेको छ, किरा मार्ने उपाय हामीसँग केही छैन,’ उनले भने ‘गाउँका केहीले विषादी ल्याएर छर्किए, मैले त विषादी पनि छर्किन पाएको छैन ।’
फौजी किराले राप्ती सोनारीका अधिकांस गाउँमा मकैबालीलाई नोक्सान गरेको छ ।

राप्तीसोनारी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रा शाहीले फौजी किराले मकैं बालीमा क्षति गरिरहेको बताईन् । गाउँपालिकाले वडा कार्यालयमार्फत किसानलाई विषादी वितरण गरेपनि फौजी किरा पुर्ण रुपले नियन्त्रणमा आउन नसकेको उनको भनाई छ । ‘हामीले विषादी वितरण गरेको ठाउँमा थोरै नियन्त्रणमा आएको जस्तो देखिन्छ, तर जहाँ विषादी पाएका छैनन्, त्यहाँ त झन् बढी क्षति गरेको छ,’ उनले भनिन् । फौजी किराको प्रकोप नियन्त्रण गर्न पुतलीलाई नै नष्ट गर्नुपर्ने कृषि शाखा प्रमुख शाही बताउँछिन् ।

‘यो किराको लार्भा मकैको पातमै हुन्छ, तर पुतली चाही रातको समयमा मात्र देखिन्छ, त्यसकारण पुतलीलाई नष्ट गर्न चुनौतीपुर्ण छ,’ उनले थपिन् । फौजी किरा नियन्त्रण गर्न स्थानीय तहको एक्लो प्रयासले मात्र सम्भव नभएको भन्दै यसका लागि संघिय सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने शाहीको सुझाव छ । फौजी किराले राप्तीसोनारीसहित डुडुवा, नरैनापुर, बैजनाथ, जानकी र खजुरा गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रमा पनि आतंक मच्चाएको खबर आज नागरीक दैनिकले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्