Logo

प्रचण्डले ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा



काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । पटक पटक टार्न खोजिएको स्थायी कमिटि बैठक आजबाट शुरु हुने भएको छ । बैठक अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा केन्द्रित हुने भनिएपछि चुरो कुरा सत्तासंघर्षमै केन्द्रित हुने देखिएको छ । यो बैठकले नेकपाको भावी दिशा र ओली सरकारको भविष्यको समेत टुंगो लगाउने स्पष्ट संकेत देखिएको छ ।

एमसीसीलाई नेकपाभित्र अस्त्रका रुपमा नेताहरुले प्रयोग गर्न थालेका छन् । यसैलाई असफल बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मका रणनीति चालिएका छन् । एमसीसीका सवालमा नेकपाभित्र ओलीको विपक्षमा हेभिवेटहरु एकजुट भएका छन् । सचिवालय देखि केन्द्रीय समितिसम्म ओली अल्पमतमा देखिएका छन् । उनको भर संसदीय दल छ जहाँ बहुमत रहेको दाबी उनी निकटस्थले गर्दै आएका छन् ।

एमसीसीको सवालमा हिजो बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलबीच छफल भएको थियो । बैठकमा बामदेवलाई मनाउन सरकारमा लानेसम्मको प्रस्ताव भयो । जसलाई उनले ठाडै अस्वीकार गरिदिए । त्यसपछि मन्त्रिमण्डल पुर्नगठन गर्ने प्रस्ताव आयो । राजनीतिक लेनदेनको कुरा चल्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका थिए । विश्वस्त स्रोतका अनुसार प्रचण्डले सरकारको कामकारबाहीको आलोचना गर्दै राजीनामा दिन ओलीलाई भनेका थिए । ‘अब तपाईं सरकारबाट ब्याक हुनुहोस्,’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो । प्रचण्डले ओलीको राजीनामा मागेको यो दोस्रोपटक हो ।

यसअघि सरकारले ल्याएको दुई अध्यादेशहरुको समिक्षाका क्रममा पनि प्रचण्डले ओलीलाई सत्ता छाड्न भनेका थिए । सचिवालयमा उनले ओलीलाई सत्ता छाड्न भनेपनि पछि सफल भएन । यसपटक भने सचिवालयका चार सदस्यको कोर मिटिङमा प्रचण्डले ओलीलाई सत्ता छाड्न भनेका छन् ।

स्थायी कमिटिको पूर्वसन्ध्यामा ओलीलाई प्रचण्डले सिधै सत्ता छाड्न भनेपछि बालुवाटार गम्भीर भएको छ । अब आजबाट शुरु हुने स्थायी कमिटि बैठकमा चर्काचर्की हुनसक्ने देखिएको छ । नेताहरुले कडा तयारी गरेकाले यसपटक बैठक वार कि पार हुने नेकपाका एक प्रभावशाली नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot