Logo

नदीमा बहाव बढ्दो क्रममा,सतर्कता अपनाउन आग्रह



काठमाडौं, असार १० । मनसुन देशभर सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीमा बहाव बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै विभिन्न भेगमा भारी वर्षाको सम्भावना रहेको छ ।

तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले हुन अनुरोध गरेका छन् ।

सामान्यतः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्दछ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । देशै भर मनसुनको प्रभावका कारण मौसमी गतिविधि बढेकाले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्नसमेत मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज र भोलि प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा हुनेछ । तर पानीको सतह सतर्कता तहभन्दा तलै रहने छ । बिहीबारबाट भने कन्काई, कोशी, कमला, बागमती लगायत प्रदेश १ र २ भई बहने नदीमा बढी बहाव हुने जलविज्ञ सुनिल पोखरेलले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदिन मध्यमदेखि भारी वर्षा हुने सम्भावना औँल्याएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्