भद्रपुर, असार १० । भारतले नेपालबाट हुने निकासी खुला गरेको छ । पश्चिम बंगाल राज्य सरकारले नेपालबाट हुने सम्पूर्ण निकासी ३ महिनादेखि रोकेको थियो । निकासी मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ ।
भारत र बंगलादेश निर्यात ठप्प भएपछि चिया, अलैंचीलगायत कृषिजन्य उत्पादन गोदाममै कुहिने अवस्थामा पुगेको थियो । नेपाल–बंगलादेश व्यापारका लागि एक मात्र नाका काँकडभिट्टा दुई महिनादेखि ठप्प भएको थियो ।
मेची भन्सारको कुल राजस्वको १० प्रतिशत बंगलादेशबाट आयात हुने व्यापारले धानेको थियो । माथिको आदेश भन्दै नेपालबाट निकासी हुने सामान पश्चिम बंगाल सरकारले रोकेपछि भारत र बंगलादेश निर्यात ठप्प भएको हो।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार पश्चिमबंगालको अवरोधका कारण रोकिएका मालबाहक ट्रक सोमबार साँझ ६ र अलैंचीका ५ ट्रक भारत गएका छन् । पुलमा अझै १० ट्रक सामान निर्यातको पर्खाइमा रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।