काठमाडौं, असार १० । सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल–चीन सीमांकन भयो। त्यसमा केही जमिन लेनदेन गरियो। ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई ३०२।७५ वर्गकिलोमिटर बढ्ता जमिन दियो।
तर, सीमा र भूगोलविद्हरू भन्छन्, ‘नेपालले प्राप्त गरेका भूभाग पहाडी, चट्टान, हिँउले ढाकेको भाग, बन्जर थिए। ती कुनै काममा उपयोगमा छैनन्। जब कि नेपालका तर्फका चीनले राम्रा बस्ती, खर्क, चरिचरन, धार्मिक एवं पुरातात्विक महत्वका स्थल प्राप्त गरेको थियो।’
समानता, आपसी हित, मित्रता तथा सदभावलगायत १२ सिद्धान्तका आधारमा नेपाल–चीन सीमांकन गरिएको थियो। भोगचलन, लेनदेन, इलाका सुम्पने विज्ञानका आधारमा त्यसमा केही भाग सट्टापट्टा गरिएको थियो।
सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा गरी २ हजार १३९ वर्गकिलोमिटर चीनबाट नेपालतर्फ भूमि आएको थियो। दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, गोरखा, रसुवा, सिन्धुपालचोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका गरी १ हजार ८ सय ३६ दशमलव २५ वर्गकिलोमिटर नेपाली भूभाग चीनतर्फ गएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।