Logo

प्रचण्डद्वारा आलोपालो छाडेर गल्ती गरेको महशुश, स्थायी कमिटि बैठकमा ओलीको चर्को आलोचना



काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलेका छन् । दुवै नेताहरुले एकतापछि सरकार र पार्टी दुवैको समिक्षा गरेका छन् ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । बैठकमा सहभागी एक स्थायी कमिटि सदस्यका अनुसार प्रचण्डले एकताको भावना विपरित काम भइरहेकोमा ओलीको आलोचना गरेका थिए । उनले पार्टी निर्णय बेवास्ता गरेर चलेको भन्दै आलोचना गरेका हुन् ।

प्रचण्डले एकतापछि पार्टीको हितका लागि आफूले एकपछि अर्को त्याग गरेको उल्लेख गरेका थिए । पार्टी हितका लागि ओलीसँगको आलोपालो प्रधानमन्त्री बन्ने सहमति समेत त्यागिदिएको स्मरण गराउँदै सरकार संचालन गर्दा त्यस्तो भावनाको बेवास्ता भएको भन्दै असन्तुष्टि जनाए । ‘आलोपालो सहमति छाडेर गल्ती गरेँ कि भन्ने महशुश भएको छ,’ उनको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने । प्रचण्डले सरकारको गम्भीर समिक्षामा जोड दिएका थिए ।

स्थायी कमिटिले पार्टी र सरकारको गहिरो समिक्षा गरी निर्णय लिने ओलीको भनाई थियो । उनले पार्टीको निर्णय विपरित जान खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको बुझिएको छ । एमसीसीबारे पार्टीको निर्णय नै निर्णायक हुने प्रचण्डको भनाई थियो ।

यसअघि प्रचण्डले हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार छाड्न भनेका थिए । प्रचण्डले ओलीको राजीनामा मागेको विषय रिपोर्टर्स नेपालले खुलासा गरिसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot