Logo

रक्षामन्त्री सिंह मस्कोमा विशेष कार्यक्रममा सहभागी



१० असार : भारतका रक्षामन्त्री राजनाथ सिंह बुधबार रुसको राजधानी मस्कोमा आयोजना भएको रुसी विजय दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी हुनुभएको छ ।

रुसी राजधानी मस्कोबाट प्राप्त समाचारमा उहाँ दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा रुसको राजधानी मस्कोमा आयोजना गरिएको एक प्रकारको विशेष सैनिक परेड कार्यक्रममा सहभागी हुनुभएको हो ।

रक्षामन्त्री सिंह सोमबार रुस प्रस्थान गर्नु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए । उहाँले भारतीय सैनिक समेत सहभागी रहेको सो विशेष महत्वको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभएको छ ।

यो कार्यक्रम मे ९ तारिखका लागि तय गरिएको थियो । तर विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यो कार्यक्रम आजका लागि सारिएको बताइएको छ । उहाँले ट्वीट गरेर सो जानकारी गराउनुभएको समाचारमा जनाइएको छ । भारतीय सञ्चारका अनुसार उहाँले रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नुहुने भएको छ ।

सोमबार मस्को पुग्नुभएका उहाँको यो भ्रमण तीन दिनको रहेको बताइएको छ । आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।एएनआई



प्रतिक्रिया दिनुहोस्