असार १०, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको कामप्रति असन्तुष्टी जनाएका छन् । आज एक सन्देश जारी गर्दै शाहले जनताको समस्याप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् ।
सन्देशमा उनले देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि बारबार किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
त्यसैगरी उनको अर्को प्रश्न छ–जनताको सुरक्षा, स्वास्थ्य र जिविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहित विरुद्धका सन्धि संझौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दा बल्दा र दुखद विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ?
भ्रष्टाचार, लापरवाही, पक्षपात जस्ता विषयले होनहार युवाहरु, तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना किन भयो भनेर पनि प्रश्न गरेका छन् ।
अहिले आरोप प्रत्यारोप वा निषेध प्रतिरोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा शाहले गौरवमय इतिहासलाई स्वीकार गरेर जान सक्नुपर्ने बताएका छन् ।
विज्ञप्तिमा शाहले कोरोना भाइरसको महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न आग्रह गरेका छन् । साथै कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धा व्यक्त गरेका छन् भने संक्रमितको स्वास्थ्य लाभको कामना गरेका छन् ।
शाहले कोरोनाको महामारीले चुनौतीसँगै अवसर पनि आएको उल्लेख गर्दै विभिन्न कारणले स्वदेश फर्किएकाहरुलाई देशभित्र इलम, उद्यम र काम धन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।