Logo

सत्ता छाड्न दबाबपछि ओलीको अस्त्र मन्त्रिमण्डल पुर्नगठन



काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । पार्टीका प्रभावशाली नेताहरु आज ओलीविरुद्ध कुनै न कुनै तरिकाले आक्रामक रुपमा प्रस्तुत भए ।

एमसीसी लगायत पार्टीका एकता प्रक्रिया टुंग्याउने विषय उठेको थियो । बैठकको शुरुको दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । तर, छोटो समय लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पनि बोलेका थिए ।

प्रचण्डले पार्टी एकता हुँदा एक व्यक्ति एक पद देखि सरकारको नेतृत्वमा आलोपालो गर्ने गरी भएको सहमतिबाट पछि हटेको खुलाएका थिए । यसबाट गल्ती गरेको महशुश हुन थालेको बताए । प्रधानमन्त्री ओलीमा अहंकार बढेको र एकलौटी ढंगले चल्न थालेको प्रचण्डको आरोप थियो । ओलीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति उल्लंघन गरेको आरोप लगाए । उनले घुमाउरो तरिकाले अब आफू प्रधानमन्त्री बन्ने पालो भएको दाबी गरे ।

प्रचण्डले एकताका बेला एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने सहमति भएको समेत खुलाए । उक्त सहमति छाडेपछि आधा आधा कार्यकाल प्रधानमन्त्री वा कार्यकारी अध्यक्षमध्ये बन्ने गरी कुरा आएको बताएको बुझिएको छ । पाँच वर्ष नै ओलीका लागि छाड्दा आफूमाथि खेलवाट गरिएको बताए । ओलीमा अहंकार बढेको भन्दै विगतमा त्याग गरेर गलत गरेको लाग्न थालेको सुनाए । प्रचण्डले कडा भाषामा भने, ‘अब पार्टी विभाजन र एकतामध्ये एक रोज्ने बेला आएको छ ।’ प्रचण्डले सच्चिन भने । यसअघि हिजो बालुवाटार पुगेर प्रचण्डले ओलीलाई सरकारबाट ब्याक हुन भनेका थिए ।

अहिले ओलीको सत्ता संकट गहिरिएको छ । संकट टार्न उनले सचिवालयका केही प्रभावशाली नेताहरुलाई मनाउन खोजेका छन् । आफूलाई सत्ताबाट हटाउन प्रभावशाली नेताहरु एकजुट भएपछि ओलीले मन्त्रिमण्डल पुर्नगठनको वचन दिएका छन् । उपाध्यक्ष बामदेव गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव गरिसकेका छन् । तर, गौतमले ओलीसँग अनगिन्ति असहमति भएको भन्दै प्रस्ताव अस्वीकार गरिसकेका छन् । बरु नेकपाभित्र एक व्यक्ति एक पद चर्को स्वरले उठेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot