Logo

रुकुम हत्याकाण्डः वडाअध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



काठमाडौँ, ११ असार । रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ । चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले दिएको हो ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले घटनामा जोडिएकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जनाकारी दिए । साथै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न आदेश अदालतले दिएको छ । घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ । तीबाहेक अरु २३ जना आरोपित पुर्पक्ष थुनामा जानेछन् ।

कारागार चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ ९१० र ९३० तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको श्रेष्तेदार बोहराले बताए । इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।

यो आदेशमा चित्त नबुझाउने पक्षले उच्च अदालतमा निवेदन दिन पाउने बाटो भने खुला छ ।

गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेको समाचार आजको कान्तिपुरले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्