Logo

कर्णालीमा समुदायसम्म फैलियो कोरोना



सुर्खेत, असार ११ । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो । पिसिआर परीक्षणबाट तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ ।

कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो । उनी दुई साता प्रदेश अस्पतालको आइसोलेसनमा बसेका थिए । कोरोना निको भएपछि उनी फर्किसकेका छन् । समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उदाहरण यतिमै सीमित छैन । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ ।

आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण देखियो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो । एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुबा भारतबाट आएर क्वारेन्टिनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण ग¥यो । परीक्षणबाट तीनै जनामा कोरोना सङ्क्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि सङ्क्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सक क्वारेन्टिन व्यवस्थित गर्न नसक्दा कोरोना समुदायस्तरमा पुगिसकेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टिनमा व्यवस्थापन गर्न नसक्नु, पिसिआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टिनको व्यावहारिक प्रयोग नहुनुजस्ता कारणले सङ्क्रमण दोस्रो–तेस्रो चरणमा पुगेको हो । प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा नवराज केसीले कोरोना नियन्त्रणमा लापर्वाही हुँदा समुदायमा फैलिन पुगेको बताएका छन् । १४ दिन क्वारेन्टिनमा राखेर पिसिआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यलाई सङ्क्रमण सरेको ‘केस’हरु थुपै्र आउने गरेको उनको भनाइ छ ।

भारत सरकारले बन्दाबन्दीकै बीच जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन ग¥यो । जसले गर्दा रोजगारीका क्रममा ठूलो सङ्ख्यामा त्यहाँ रहेका कर्णालीवासी विभिन्न नाका हुँदै फर्किन थाले । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीवासी भारतबाट फर्किसकेका छन् । भारतबाट फर्किनेको सङ्ख्या बढेसँगै समुदायस्तरमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दैछ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगे पनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ । जसले गर्दा कोरोना भुसको आगोझैँ फैलिन सक्ने स्थानीयको चिन्ता छ । रासस



प्रतिक्रिया दिनुहोस्